|

वन महासंघ र मञ्चद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ ८ गते ।
ताप्लेजुङमा क्रियाशील दुई संस्थाले आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लास्थित सामूदायिक वन उपभोक्ता महासङ्घ नेपाल र हिमाली संरक्षण मञ्च नामक संस्थाले चालू आर्थिक वर्षभित्र गर्ने आफ्ना कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सदरमुकाम फुङ्लिङमा सोमबार महासङ्घ र मञ्चले संयुक्त कार्यक्रमको आयोजना गरी चालू आव २०७७/७८ मा कार्यान्वयन गर्ने बजेटसहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् । दुई संस्थाले कुल एक करोड ४५ लाख पाँच हजार १५१ रुपियाँ बजेट बराबरको कार्यक्रम गर्ने जानकारी गराएका छन् । जसअनुसार सामूदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ ताप्लेजुङले ९६ लाख ९१ हजार ८१५ रुपियाँ बजेजसहितको कार्यक्रम गर्ने जनाएको छ ।
जिल्ला महासङ्घका कार्यक्रम संयोजक सुमन गुरागाईंले विभिन्न १९ वटा शीर्षकमा बजेट खर्च गरिने जानकारी दिनुभयो । गुरागाईंका अनुसार वन तथा वातावरण संरक्षणसँग सम्बन्धित भौतिक पूर्वाधारसहित क्षमता अभिवृद्धि साथै सचेतना जागृत गर्ने खालका योजनामा बजेट खर्च हुने छ । महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजना र भर्टिकल वायोडाइभरसिटीको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
महासङ्घका अध्यक्ष ओझाका अनुसार कुल बजेटमध्ये तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनाको ७७ लाख ७८ हजार ८१५ र भर्टिकल वायोडाइभरसिटीको १९ लाख १३ हजार आर्थिक सहयोग रहेको छ । वन संरक्षण तथा व्यवस्थापनका विभिन्न योजनासँगै पर्यटन प्रवर्द्धन, हाल महामारीको रुपमा फैलिएको कोभिड–१९ को असरलाई सामना गर्नेगरी स्थानीय समूदायको जीविकोपार्जनमा सहयोग सहितका कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
यस्तै हिमाली संरक्षण मञ्चले कुल ४८ लाख १३ हजार ३३६ रुपियाँ बजेट बराबरको विभिन्न कार्यक्रम गर्ने जनाएको छ । मञ्चका कार्यक्रम संयोजक सन्दिप सुबेदीका अनुसार तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनाकै आर्थिक सहयोगमम योजनाहरु कार्यान्वयन गर्न लागिएको हो । वन, वातावरण तथा वन्यजन्तुको संरक्षणसँग सम्बन्धित योजनासहित सामूदायिक होमस्टे, स्थानीय संस्कृतिको प्रवर्द्धन लगायतका पर्यटन विकासमा सघाउन पु¥याउने खालका योजनाहरु कार्यान्वयन गरिने सुबेदीले जानकारी दिनुभयो ।
यता संस्थाको वार्षिक कार्यक्रम सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन सहितका सरोकारवालाले समूदायलाई प्रत्यक्ष लाभ पुग्नेगरी पारदर्शी रुपमा योजना कार्यान्वयन गर्न सुझाव दिएका छन् । वन तथा वातावरण संरक्षणले कार्यक्रम प्रभावित क्षेत्र मात्र नभई सिङ्गो प्राणी जगतको अस्तित्व बचाउनमा सहयोग पुग्नेभन्दै योजनाहरु प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा समेत सरोकारवालाले जोड दिएका थिएका छन् ।
कोभिडका कारण कार्यक्रम कार्यान्वयनमा चुनौती रहेपनि सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर तत्कालको समयलाई सन्तुलन गरी कार्य गर्नुपर्ने पनि सरोकारवालाले बताएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं, डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाह, ताप्लेजुङका प्रहरी प्रमुख (डीएसपी) महेन्द्रकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्याक्रम सार्वजनिक गोष्ठीका अतिथिहरु ।
अरुलाई पनि शेयर गरौ !

Similar Posts