| |

अनुमतिबिना ताप्लेजुङ प्रवेश गर्न खोज्ने गाडी प्रहरी नियन्त्रणमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ८ ।
अनुमतिबिना यात्रु बोकेर ताप्लेजुङ प्रवेश गर्न खोज्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी बन्द गरिएको अन्तरजिल्ला सवारी आवागमनको नियमलाई उल्लङ्घन गरी झापाबाट ताप्लेजुङतर्फ आउँदै गरेको सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
झापाको कचनकवल गाउँपालिकाबाट पाँचजना यात्रु बोकेर ताप्लेजुङ आउँदै गरेको प्र १–०१–००१ ज ३४३५ नम्बरको जिपलाई आइतबार राती प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीय प्रशासनको अनुमति बिना आएको उक्त गाडीलाई काबेली नाकामा रहेको हेल्प डेस्कको सहायतामा यात्रुसहित नियन्त्रणमा लिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रनाउ श्रेष्ठका अनुसार विभिन्न काल्पनिक समस्या देखाउँदै रातारात भागेर आएको सो सवारी साधनलाई हेल्प डेस्कले गएराती करिव ३ बजेतिर नियन्त्रणमा लिएको हो । डेस्कको नियन्त्रणपछि हाल जिप प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक तथा यात्रुलाई सदरमुकामस्थित ताप्लेजुङ उद्योग बाणिज्य सङ्घको भवनको क्वारेन्टाइनमा राखिएको प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । निषेधाज्ञाको नियम उल्लङ्घन गरी सवारी चलाएका कारण सवारी धनी र चालकलाई कानुनबमोजिम कारबाही हुने उहाँको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बु पुछारमा रहेको काबेली ताप्लेजुङ प्रवेशको मुख्य नाका हो ।
सङ्क्रमणको जोखिमलाई बढ्न नदिन ताप्लेजुङको स्थानीय प्रशासनले पछिल्लो समय सवारी पास तथा सहमतिलाई थप कडाइ गर्दै आएको छ । स्थानीय प्रशासनको उक्त योजनालाई कडाइका साथ कार्यान्वयन गर्दै आएको र कसैले नियमको उल्लङ्घन गरेमा सङ्क्रमण नियन्त्रण ऐनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले बताउनुभयो । प्रजिअ चापागाईंले कोभिडविरुद्ध लड्नलाई स्थानीय प्रशासनसहित सरकारले लागू गरेको नियमलाई कार्यान्वयन गर्नका लागि सबै पक्षसँग आग्रह पनि गर्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts