|

ताप्लेजुङमा धार्मिक संस्थाद्वारा माङ्हिम तोडफोडको विरोध

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, भदौ ३ ।
ताप्लेजुङमा रहेका किरात धर्मसम्वद्ध धार्मिक संस्थाहरुले माङ्हिम (मन्दिर) तोडफोडको विरोध गरेका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध रुपमा किराँत माङ्हिमको तोडफोड हुन थालेको भन्दै धार्मिक संस्थाहरुले विरोध जनाएका हुन् ।
सामाजिक तथा धार्मिक सद्भाव खल्बलाउने किसिमले किरात धर्मालम्बीहरुको सेवाभक्ती गर्ने ठाउँ माङ्हिमहरु तोडफोड गरिएकाभन्दै जिल्लास्थित किरात धर्म तथा साहित्य उत्थान सङ्घ सहितका संस्थाले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै घटनाको भत्र्सना साथै विरोध जनाएका हुन् । तोडफोडको विरोध जनाउने अन्य संस्थाहरुमा किरात धर्म तथा साहित्य उत्थान सङ्घ फुङ्लिङ नगर समिति, किरात साम्यो माङ्सेवा साबा समिति, नालिफुङ्वा समिति र किरात खाम्बुलिङ हाङ्साम नाहाङ्मा यक माङ्हिम रहेका छन् ।
सदरमुकाम फुङ्लिङमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिअनुसार पछिल्लो पटक गत साउन २६ गते फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको लामुजाकमा रहेको किरात खाम्बुलिङ हाङ्साम नाहाङ्मायक माङ्हिममा ग्याँस भरिएको सिलिन्डर विस्फोट गराई तोडफोड गरिएको छ । त्यस्तै २०७६ पुस २० गते फक्ताङ्लुङ गाउँपालिकाकै वडा नं. ६ लेलेपको साँघुमा रहेको किरात तागेरा निङ्वाभु माङ्यक माङ्हिम कोपियक तथा निर्माणाधीन किरात महागुरु फाल्गुनन्द लिङ्देनको सालिक र ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल मेन्छ्याम युमा माङ्हिममा २०७५ साल मङ्सिरमा तोडफोड गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
किरात धर्मसम्वद्ध संस्थाहरुले विज्ञप्तिमार्फत सामाजिक सद्भाव, भातृत्व एवम् धार्मिक विविधता र सहिष्णुतामा खलल् पु¥याउने खालका तोडफोडजन्य घटनाहरु निन्दनीय भएको र तोडफोडजन्य घटनामा संलग्नलाई कानुनी कारबाही गर्न स्थानीय प्रशासन, सरकार र सङ्घीय सरकारसँग माग गरेका छन् । अज्ञात समूहका नाउमा किरात माङ्हिमहरुको तोडफोड हुँदै आएको भए पनि पछिल्लो घटना अर्थात खेजेनिमको तोडफोडमा संलग्न रहेको आशङ्का गरी प्रहरीसमक्ष किटानी जाहेरी नै दिएको किरात खाम्बुलिङ हाङ्साम नाहाङ्मायक माङ्हिमका सचिव मिङ्सो साम्राले बताउनुभयो ।
साम्राका अनुसार माङ्हिम तोडफोडमा सात जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको र सातमध्ये एकजना पक्राउ परिसकेका छन् । किटानी जाहेरी दिइएका अन्यलाई पनि तत्काल पक्राउ गरी अनुसन्धान गरेर कानुनी कारबाही गर्नुपर्ने संस्थाहरुको माग रहेको किरात धर्म तथा साहित्य उत्थान सङ्घ ताप्लेजुङका सचिव ज्ञानु फुरुम्बोले बताउनुभयो ।
तोडफोडजन्य घटनामा संलग्नलाई कारबाहीको माग गर्दै विज्ञप्तिमा हस्ताक्षर गर्नेमा किरात धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष कर्ण पालुङ्वा, किरात साम्यो माङ्सेवा साबा समितिका अध्यक्ष इन्द्रहाङ पालुङ्वा, किरात धर्म तथा साहित्य उत्थान सङ्घ फुङ्लिङ नगर समितिका सचिव जयप्रकाश सावादेन र किरात खाम्बुलिङ हाङ्साम नाहाङ्मायक माङ्हिमका अध्यक्ष भीमकुमार लिम्बू तथा सचिव मिङ्सो साम्रा रहनुभएको छ ।

धार्मिक संस्थाहरुले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनका सहभागी
तोडफोड गरिएको किरात खाम्बुलिङ हाङ्साम नाहाङ्मा यक माङ्हिम
किरात खाम्बुलिङ हाङ्साम नाहाङ्मा यक माङ्हिमको बाहिरी संरचना
अरुलाई पनि शेयर गरौ !

Similar Posts