बेलारुसको राष्ट्रपतिमा लुकासेन्को विजयी

अरुलाई पनि शेयर गरौ !

मिन्स्क,साउन २७ । बेलारुसको राष्ट्रपति पदमा अलेक्जान्डर लुकासेन्को ८०.२३ प्रतिशत मत ल्याएर विजयी हुनु भएको छ । ६५ वर्षीय लुकासेन्को सन् १९९४ देखि सत्तामा हुनुहुन्छ । उहाँ छैटौंपटक बेलारुसको राष्ट्रपति पदमा विजयी हुनु भएको हो । सन् २०१५ मा भएको चुनावमा लुकासेन्कोले ८३.५ प्रतिशत मत ल्याउनुभयो । लुकासेन्कोकी प्रमुख प्रतिद्वन्द्वी सेभ्लाना तिखानोभ्स्कायाले ९.९ प्रतिशत मात्र मत पाएकी निर्वाचन आयोगले जनाएको छ । चुनावी अभियानका क्रममा लुकासेन्कोले तिखानोभ्स्काया ‘निकै कमजोर प्रतिद्वन्द्वी’ भएको प्रतिक्रिया दिनु भएको थियो । ३७ वर्षीया पूर्वशिक्षिका तिखानोभ्स्काया विदेशीहरूको इसारामा चुनावी मैदानमा आएकी उहाँको दाबी छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार अन्य तीन जना उम्मेदवारले २ प्रतिशतभन्दा कम मत ल्याएका छन् । यसअघि सार्वजनिक चुनावी मतसर्वेक्षणमा लुकासेन्कोले भारी मतका साथ विजयी हुने विवरणहरू सार्वजनिक भएसँगै राजधानी मिन्स्कलगायत केही स्थानमा लुकासेन्कोविरुद्ध प्रदर्शन सुरु भएका थिए । तर आयोगले सोमबार अन्तिम नतिजा सार्वजनिक गरेलगत्तै विपक्षीहरूले विरोध प्रदर्शनलाई देशव्यापी बनाएका हुन् । चुनावमा व्यापक धाँधली भएको उनीहरूको दाबी छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts