|

ताप्लेजुङमा अब मास्क नलगाई हिड्नेलाई सय रुपैयाँ जरिवाना

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, साउन २१ । तपाई मास्क नलगाई हिड्नु भएको छ भने होसियार ! अब यसो हो भने ताप्लेजुङ प्रशासनले तपाईलाई ठाउँको ठाउँ एकसय रुपैयाँ जरीवाना सहितको कारवाही गर्ने छ । लक डाउन खुलेको मौका पारी असुरक्षित ढंगले शहर–बजारमा बढ्न थालेको मानवीय भीड नियन्त्रण गर्न कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले बुधबारबाटै जरिवाना सहितको कारवाही थाल्ने निर्णय गरेको हो ।
कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कोरोना संक्रमणको त्रास कम गर्न तथा मान्छेमा हराउँदै गएको स्वास्थ्य सम्बेनशीलतालाई पुर्नजागृत गर्न यस्तो निर्णयमा पुगेको जानकारी दिनुभयो । हामीले बुधबारबाटै एक्सन थालि सकेका छौं प्रजिअ निरौलाले भन्नुभयो । मास्क नलगाई हिड्नेलाई जनही सय रुपैयाँ जरीवानासहित भौतिक दुरी कायम गरेर हिड्ने र व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायबारे जानकारी दिन ठाउँको ठाउँ उभ्याउने सहितका जन कारबाहीलाई प्रहरीले अघि बढाउने भएको छ ।
संक्रामक रोग निवारण ऐनले गरेको व्यवस्थालाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले कार्यान्वयनमा लगेको प्रजिअ निरौलाले बताउनुभयो । जिल्ला प्रहरी प्रमुख (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले मान्छेले आफ्नो सुरक्षाका लागि आफैं सजगता अपनाउनुपर्नेमा सुरक्षा सम्बेदनशिलतालाई कुल्चन थालेको भन्दै दुखेसो पोख्नुभयो । उहाँले जरिवाना सहितको कारबाही अघि बढाउन मातहतका सबै प्रहरी इकाईलाई निर्देशन दिई सकिएको जानकारी दिनुभयो ।
कोरोना नियन्त्रण तथा व्यस्थापन समितिले अत्यावश्यक काम बाहेक कर्मचारीलाई बिदामा जान स्वीकृति नदिन सरकारी तथा गैर सरकारी निकायलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ । अत्यावश्यक कामका लागि जिल्ला बाहिर गएका कर्मचारी बिदा सकिएर कार्यक्षेत्र फर्कनुपर्ने अवस्थामा समेत जिल्ला बाहिर गएका कर्मचारीले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । ‘बढ्दो संक्रमण बिरुद्ध कडाइका साथ जाने गरी निर्णय भएको छ’कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले भन्नुभयो । प्रमुख जिल्ला अधिकारी निरौलाले अत्यावश्यक काम बाहेक सवारी पासमा कडाई गरिएको जानकारी दिनुभयो । ताप्लेजुङ प्रवेशको मुख्य मार्ग काबेलीमा रहेको हेल्थ डेस्कलाई थप कडाईका साथ जाँचपास गर्न निर्देशन दिई सकिएको समेत उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts