पठनपाठनको नाममा बिद्यार्थीबाट रकम असुल्ने बिद्यालयलाई कारवाही गर्ने सिरिजङ्घाको योजना

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १७ ।
ताप्लेजुङकोे सिरिजङ्घा गाउँपालिकाले पठनपाठनको नाममा बिद्यार्थीबाट कुनैपनि किसिमको शुल्क असुल्ने सामुदायिक बिद्यालयलाई कारवाही गर्ने भएको छ । चालू आर्थिक बर्षबाट गाउँपालिका भरीका कक्षा ११ र १२ सम्मका बिद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था गर्न लागेको गाउँपालिकाले बिद्यार्थीबाट शुल्क असुल्ने बिद्यालयलाई कारवाही गर्ने नीति ल्याएको हो । गाउँपालिकाले कक्षा ११ र १२ अध्यापन गराउने बिद्यालयलाई बिद्यार्थीहरुको पढाईका लागि संख्याको आधारमा बिद्यालयमा सोझै अनुदा रकम उपलब्ध गराउने भएको छ ।‘बिद्यार्थी संख्या,अनुदानको प्रभावकारी उपयोगिता र सामुदायिक बिद्यालयले शुल्क असुले÷नअसुलेको सुक्ष्म अध्ययनका लागि गाउँपालिकाको शिक्षा शाखाको नेतृत्वमा सुक्ष्म अनुगमन गर्ने संयन्त्र बनाउने छौं’प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भन्नुभयो । उहाँले गाउँपालिका भित्रका सामुदायिक बिद्यालयको गुणस्तर अभिबृद्धि गर्न शैक्षिक कार्य सम्पादन प्रोत्साहन कोष स्थापना गरिने बताउनुभयो । प्रभावकारी र गुणस्तरीय कार्य सम्पादन गर्ने बिद्यालय र शिक्षकलाई प्रोत्साहन तथा आचरण,मर्यादा र मापदण्ड बिपरित कार्य गर्ने बिद्यालय र शिक्षकलाई कारवाही गर्ने प्रयोजनमा कोष परिचालित हुने गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले बिद्यालय समय र शिक्षकको उपस्थितिमा नियमितता कायम गर्न गाउँपालिका भरीका सामुदायिक बिद्यालयहरुमा गाउँपालिकाबाटै अनुगमन हुने गरी बिद्युतीय हाजिरीको व्यवस्थापन गरिने भएको छ । गाउँपालिका भरीका बिद्यार्थीहरुको पोशाकमा एकरुपता ल्याउने प्रयास स्वरुप चालू आर्थिक बर्षमा कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई पोशाक र बिद्यालय झोला निःशुल्क रुपमा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षाको नतिजामा गुणस्तरीय सुधार ल्याउन प्रत्येक वडाका माध्यमिक तहका नेतृत्वकर्ता बिद्यालय (फिडर मावि)मार्फत सञ्चालन हुनेगरी अंग्रेजी,गणित र बिज्ञान बिषयको कम्तिमा ३ महिना कोचिङ कक्षा सञ्चालन गर्ने प्रवन्ध गर्ने भएको छ । यसका लागि चालू आर्थिक बर्षमा बजेटको व्यवस्था भएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिनुभयो ।‘सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारकोतर्फबाट अधिकतम् बजेट र योजना तय भएकोले पठनपाठनका नाममा बिद्यार्थीबाट कुनैपनि शुल्क असुले त्यो बिद्यालय सिधै कारवाहीमा तानिने छ’प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भन्नुभयो । ८ वटा वडा रहेको गाउँपालिका भित्रका प्रत्येक वडाबाट एसईई परीक्षामा सर्बोकृष्ट अंक ल्याउने १÷१ जना बिद्यार्थीलाई कृषि र पशुपंक्षी विकास बिधामा प्रविणता प्रमाण–पत्र तह वा सो सरहको अध्ययनका लागि आवास सहितको निःशुल्क छात्रबृत्ति प्रदान गर्ने गाउँपालिकाले घोषणा पनि गरेको छ ।‘गाउँपालिकालाई आवश्यक पर्ने प्राविधिक जनशक्ति गाउँपालिका भित्रैकै नागरिकबाट पूरा गर्न सकियोस् र गाउँपालिकाको शैक्षिक स्थितिमा गुणात्मक परिवर्तन ल्याउन सकियोस् भन्ने मनशायले चालू बर्षको बजेटमार्फत यस्तो व्यवस्था गरेको हौं’गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भन्नुभयो । राष्ट्रिय जनगणना २०६८ को शैक्षिक तथ्याङ्क अनुसार सिरिजङ्घा गाउँपालिकाको कूल औसत साक्षरता ७५.१ रहेको छ । यो औसत साक्षरता प्रतिशत यहाँका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाको पछिको राम्रो हो । फुङ्लिङ नगरपालिकाको औसत साक्षरता ७८.४ प्रतिशत रहेको छ । सिरिजङ्घा गाउँपालिकामा पुरुषको साक्षरता ८३ प्रतिशत र महिलाको ६८.२ प्रतिशत रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts