कांग्रेसमा विवाद चर्कियो ः देउवासँग पौडेल र सिटौला समूह चिढिए

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,साउन १५ । कांग्रेस महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय निकायमा एकपछि अर्को मनोनयन र नियुक्ति गर्दै जान थालेपछि संस्थापन इतर समूह सशंकित बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले देउवाको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष महाधिवेशन हुनेमै संशय व्यक्त गरेका छन् । नेतृत्वको पछिल्ला कदमको विरोध गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पौडेल पक्षको बैठक चलिरहेकै बेला सभापति देउवाले केन्द्रीय तहको ज्येष्ठ राजनीतिज्ञ सभामा ४ सय ७९ जनालाई मनोनयन गर्नु भएको थियो । पौडेल पक्षको बैठक सकिएलगत्तै मनोनयन गरेको सूची बाहिरिएको थियो । यसअघि भएका पार्टीको विभागका मनोनयन, क्रियाशील सदस्यता वितरणमा चलखेल, राप्रपा नेता सुनिल थापालाई सहमहामन्त्री र अन्य नेतालाई सात केन्द्रीय सदस्य दिने सभापति देउवाको निर्णयमा छलफल गर्न पौडेल पक्षको बैठक बसेको थियो । बैठकमा सबै नेताले देउवाका पछिल्ला कदमलाई रोक्न नसक्ने हो भने महाधिवेशन निष्पक्ष रूपमा हुन नसक्ने धारणा राखेका थिए । नेतृत्वको पछिल्ला कदम र निर्णयको विरोध गर्दै सभापति देउवालाई लिखित रूपमै असहमति पत्र बुझाउने र लगत्तै पत्रकार सम्मेलन गरेर आफ्नो पक्षको धारणा सार्वजनिक गर्ने निर्णयमा पौडेल पक्ष पुगेको छ । यसअघि पनि पौडेल पक्षले लिखित असहमति जनाएको थियो । तर सभापतिबाट मनोनयन नरोकिएपछि औपचारिक रूपमा असहमति पत्र दिएरै पौडेल पक्षले यो मुद्दालाई तल्लो तहसम्म लैजाने निर्णय गरेको छ । सभापति देउवाले आफ्नो नेतृत्वमा रहने ज्येष्ठ प्राज्ञ सभामा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानालगायतलाई समेट्नु भएको छ । यो सभा पार्टीमा संघर्ष गरेका पुराना नेता तथा कार्यकर्तालाई सम्मानका लागि बनाइएको निकाय हो । सभामा देउवाले डडेलधुराका २३ जनालाई मनोनयन गर्नु भएको छ । कांग्रेसको जगका रूपमा रहेको मोरङबाट भने तीन जना मात्रै परेका छन् । विधानमा पार्टीका निकाय, विभाग र समिति ६ महिनाभित्र गठन हुनुपर्ने व्यवस्था छ । केन्द्रदेखि तलसम्मको महाधिवेशनरअधिवेशनको तालिका घोषणा गरिसकेको अवस्थामा पार्टीका कुनै पनि निकायको मनोनयन र नियुक्ति आचारसंहिताविपरीत हुने ठम्याइ संस्थापन इतर समूहको छ । पूर्वमहामन्त्री सिटौला सभापतिका यस्ता कदमबाट महाधिवेशन निष्पक्ष हुनेमा गम्भीर आशंका उत्पन्न भएको बताउनुहुन्छ । महाधिवेशनका लागि महाराजगन्जमा आफ्नो समूहको सम्पर्क कार्यालय खोलेर गतिविधि चलाइरहेका सिटौलाले मंगलबार थापा नेतृत्वको समूह पार्टी प्रवेश गर्ने कार्यक्रमसमेत बहिष्कार गर्नु भएको थियो । थापालाई सहमहामन्त्री दिने र अन्य ७ नेतालाई केन्द्रीय सदस्य दिने निर्णय गर्दा आफूहरूसँग छलफल नभएको भन्दै सिटौला समूहको असन्तुष्टि छ । ‘थापाको प्रवेशले पार्टीको संगठनमा सहयोग नै पु¥याउँला, तर महाधिवेशनको कार्यतालिका तोकिसकेपछि केन्द्रीय स्तरका पार्टी निकायहरूमा गरिएका नियुक्ति र मनोनयनले पार्टीभित्र सन्तुलन र न्याय कायम गर्ने गम्भीर आशंका छ,’ सिटौलाले भन्नुुभयो, ‘यसले महाधिवेशनको निष्पक्षतामाथि नै प्रश्न खडा गरेको छ ।’ पछिल्लो पटक विभाग, ज्येष्ठ नागरिक सभामा गरिएको मनोनयनप्रति पनि सिटौला असन्तुष्ट हुनुहुन्छ । यसअघि विभाग गठनका विषयमा उहाँ मौन रहनु भएको थियो । पौडेल पक्षको बैठकमा बुधबार रामशरण महतले महाधिवेशन प्रभावित पार्ने गरी नेतृत्वले गरेका र गर्न खोजिरहेका कदमविरुद्ध आफूहरूको विरोध रहने बताउनुभयो । देउवाले पौडेल पक्षको विरोधको बाबजुद २० विभागका संयोजक तोकिसक्नु भएको छ । संयोजक तोकेका विभागमा सदस्य मनोनयन धमाधम भइरहेको छ । तत्कालीन सभापति सुशील कोइरालाले तीन वर्षपछि विभाग गठन गर्दा अहिलेका सभापति देउवाले आफ्नो समूहलाई राजीनामा गर्न लगाउनु भएको थियो  । उहाँले त्यति बेला विधान र सहमतिविरुद्ध निर्णय गरिएको भन्दै विरोध जनाउनु भएको थियो । देउवाकै विरोधका कारण त्यति बेला कोइराला पछि हटे । गठन भइसकेको विभाग खारेज गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts