| |

ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न थालियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, साउन १३ ।
हिमाली जिल्ला ताप्लेजुङमा पनि मंगलबारबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यहाँको जिल्ला प्रशासन कार्यालयमै संकलन केन्द्र स्थापना गरेर राष्ट्रिय परिचयपत्रको विवरण भर्न थालेको हो ।
केन्द्रले मंगलबार फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलको विवरण संकलन गरी राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु गरेको राष्ट्रिय परिचयपत्र विवरण संकलनमा संलग्न कर्मचारी (अपरेटर) बसन्त निरौलाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले राष्ट्रिय परिचयपत्र नेपाली नागरिकको ऐतिहासिक र प्राय, सबै विवरण खुल्ने हाते पुस्तिका जस्तै भएकोले यसमा सबैलाई सहभागी हुन आह्वान गर्नुभएको छ ।
प्रजिअ निरौलाका अनुसार नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरुले अब जिल्ला प्रशासन कार्यालयमै रहेको राष्ट्रिय परिचयपत्रको विवरण संकलन केन्द्रमार्फत राष्ट्रिय परिचयपत्रका लागि दरखास्त दिनुपर्ने छ । ‘हिजो प्रशासन कार्यालयमै संकलन हुने फोटोसहितको मतदाता नामावली जस्तै अब राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि प्रशासन कार्यालयमार्फत नै प्रक्रिया अघि बढ्ने छ’ प्रजिअ निरौलाले भन्नुभयो ।
कोभिड–१९ का कारण भीडभाड र तामझाम नगरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्यको आरम्भ गरिएको प्रजिअ निरौलाले बताउनुभयो । परिचयपत्र प्राप्त गर्नेले दरखास्त दिँदा आवेदकको व्यक्तिगत विवरण, स्थायी र अस्थायी ठेगाना, धर्म, लिङ्ग, पेशा, शैक्षिक योग्यता, वैवाहिक स्थिति र नागरिकताको किसिम लगायतका विवरण समेट्नुपर्ने हुन्छ ।
व्यक्तिगत विवरण भित्र आवेदकको पहिलो नाम, बीचको नाम, जन्ममिति, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति, जारी जिल्ला र नागरिकताको किसिम उल्लेख गर्नुपर्ने छ । अस्थायी र स्थायी ठेगानामा सम्बन्धित प्रदेश, जिल्ला, स्थानीय तह, गाउँ–टोल र फोन तथा मोबाइल नम्बरको विवरण रहने छ ।
दरखास्त फाराममा आवेदकले आफ्नो जस्तै हजुरबुबा–हजुरआमा, बाबु–आमा र पति भए पत्नीको र पत्नी भए पतिको व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । त्यसपछि आवेदकले आफुले भरेका सबै विवरण ठीक भएको अवस्थामा ‘विवरण ठीक छ, झुटा ठहरे कानुनबमोजिम सहुँला बुझाउँला’ भनेर दायाँ–बाँया औंठाछाप गर्नुपर्ने छ । यो विवरण भर्न आवेदकको हजुरबुबा–हजुरआमा, बाबु–आमा र पति भए पत्नीको र पत्नी भए पतिको नागरिकता अनिवार्य छ । प्राप्त कागजातका आधारमा विवरण भर्न केन्द्रमा तोकिएका राष्ट्रिय परिचयपत्र विवरण संकलन अपरेटरले सघाउने छन् ।
तयार भएको विवरण ठीक भए÷नभएको परीक्षणका लागि संकलन केन्द्रमा रुजु अधिकारी तोकिने छन् । प्रशासन कार्यालयमा सञ्चालित राष्ट्रिय परिचयपत्र विवरण संकलन केन्द्रका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई रुजु अधिकारी तोकिएको प्रजिअ निरौलाले जानकारी दिनुभयो । बिद्युत र इन्टरनेट सहितमा कुनै पनि बाधा नआए एउटा राष्ट्रिय परिचयपत्रको विवरणलाई अन्तिम रुप दिन १५–२० मिनेट लाग्ने विवरण संकलन अपरेटर निरौलाले जानकारी दिनुभयो ।
परिचयपत्रमा बिवरण मात्र भरिँदैन, विवरणमा उल्लेखित सबै कागजातहरुलाई स्क्यानिङ गरेर पनि राखिन्छ । परिचयपत्रमा सबै विवरण समावेश भएपछि परिचयपत्र भर्न दरखास्त दिनेको फोटो, बिद्युतीय मेसिनबाट हातको दाँयाबाँया र आँखाको नानी भाग कैद गरेर त्यो पनि विवरणभित्रै समावेश गरिने विवरण संकलन अपरेटर निरौलाले बताउनुभयो ।
‘यो एक हिसाबले व्यक्तिको तीनपुस्ते सबै विवरण खुल्ने कागजात र आधार सहितको एउटा ठूलो दस्तावेज हो’ राष्ट्रिय परिचयपत्रको महत्व दर्शाउँदै प्रजिअ निरौलाले भन्नुभयो । परिचयपत्र संकलनको सबै काम सकेपछि राहदानीको जस्तै परिचयपत्र आए÷नआएको जानकारी मोवाइल म्यासेजबाट गराइँन्छ । विवरण जहाँबाट भरेपनि विवरण भरेकै जिल्लाबाट मात्र यो परिचयपत्र पाउने व्यवस्था रहेको समेत उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts