मङ्गलबारे हाट आएका ९४ जनाको आरडीटी परीक्षण
ताप्लेजुङ, साउन १३ । ताप्लेजुङमा मंगलबार गरिएको ९४ जनाको आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति सदस्य तथा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) महेन्द्रकुमार श्रेष्ठले परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
मंगलबार स्वास्थ्य कार्यालय ताप्लेजुङले तोक्मे हाटबजार क्षेत्रमा सर्वसाधारणको आरडीटी परीक्षण गरेको थियो । डीएसपी श्रेष्ठका अनुसार ६१ पुरुष र ३३ महिलाको आरडीटी परीक्षण गरिएको थियो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लामा यसअघि करिव साढे आठ सय बढीको आरडीटी परीक्षण गरिसकिएको छ ।
प्रजिअ निरौलाका अनुसार मङ्लबार गरिएकोसमेत झण्डै १ हजार जनाको आरडीटी परीक्षण गरिएको छ । अब शनिबार तोक्मे हाट क्षेत्रमै र अन्य दिन वीरेन्द्रचौक लगायतका क्षेत्रमा कार्यस्थलमा खटिएका जनशक्ति सहितको नमूना आरडीटी परीक्षण गरिने भएको छ ।
यस्तै प्रत्येक स्थानीय तहसम्म परीक्षणको दायरा विस्तारका लागि सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकलाई पहिलो चरणमा ५० थानका दरले आरडीटी किट वितरण गरिएको छ । स्वास्थ्य संयोजकले स्थानीय तहका सम्भावित जोखिम क्षेत्रका नागरिकहरुमा आरडीटी परीक्षण गर्ने प्रवन्ध मिलाउने छन् ।