| |

ताप्लेजुङमा बाढी र पहिरोले ८६ लाख बढीको क्षति, २ जना बेपत्ता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १० ।
असार १ गतेदेखि साउन पहिलो साता सम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका साढे ८६ लाख रुपैयाँ बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार सक्रिय मनसुन सुरु भएको अवधि असार १ गतेदेखि साउन पहिलो साता सम्ममा ८६ लाख ६३ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । प्रहरीका अनुसार उत्तरी ताप्लेजुङको देउमाटार, मौवाटार टिपताला भञ्ज्याङतर्फ घुम्न जाने क्रममा सिँजेमा खोला तर्ने क्रममा फक्ताङ्लुङ गाउँपालिका ६ का कालुमान ताप्मादेन र सञ्जबहादुर केदेम लिम्बू बेपत्ता हुनुहुन्छ ।
यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ इखाबुस्थित रानी आधारभूत बिद्यालयको ५ कोठे भवन र फर्निचर सहितका सामान बगाउँदा २८ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वर्षासँगै आएको बाढीले फक्ताङ्लुङ गाउँपालिका वडा नं. २ स्थित मेथेमखोला जलबिद्युत आयोजनाको पाइप राख्ने पिलर र ट्याङ्की बगाउँदा ९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।
त्यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं. ४ स्थित इखाबुस्थित भक्तबहादुर लिम्बूको घर र गोठमा पहिरोले ३ लाख रुपैयाँ मूल्य बराबर क्षति भएको छ । पहिरोले मेरिङ्देन गाउँपालिका वडा नं. २ सान्थाक्राका कुलबहादुर लिम्बूको घरमा क्षति गर्दा ७ लाख रुपैयाँ मूल्य बराबर क्षति भएको विवरण प्रहरीले संकलन गरेको छ । मिक्वाखोला गाउँपालिका ३ लिबाङको लुते खोलामा आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाउँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका ६ लेलेपका लक्ष्मण लिम्बूको घर पहिरोले पुर्दा करिव १२ लाख मूल्य बराबर क्षति भएको प्रहरीले जनाएको छ ।
यता मिक्वाखोला गाउँपालिका ५ पापुङस्थित हुक्तालुङ खोला माथिको पक्की पुल बाढीले बगाउँदा १२ लाख रुपैयाँ मूल्य बराबर फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलास्थित तमोर नदीमा लगाएको फड्के पुल बगाउँदा ५ लाख रुपैयाँ मूल्य बराबर क्षति भएको छ । ओलाङ्चुङगोला बस्तीबाट मानिसले जंगल आवतजावत गर्न प्रयोग गर्ने पक्की पूल बगाएपनि प्रहरीले अहिलेसम्म त्यसको क्षतिको विवरण प्राप्त नभएको बताएको छ ।
पहिरोले मेरिङ्देन गाउँपालिका २ का असारसिंह लिम्बूको घर तथा बाख्रा गोठमा भएको क्षति गरेर ५३ हजार र फुङ्लिङ नगरपालिका ६ सुकेटार बस्ने छोवाङ्नुपु शेर्पाको घर तथा शौचालयमा पहिरोले क्षति पु¥याउँदा ५० हजार रुपैयाँ मूल्य बराबर क्षति भएको प्रहरीले जानकारी दिएको छ । बाढी तथा पहिरोका कारण फक्ताङ्लुङ गाउँपालिका ४ इखाबुका २ घर, मेरिङ्देन गाउँपालिमा ६ नाल्बु र वडा नं. २ सान्थाक्रामा २–२ र आठराई त्रिबेणी गाउँपालिका १ निघुरादिनका १ घर परिवार बिस्थापित भएका छन् । सिरिजङ्घा गाउँपालिका ५ पेदाङका पहिरोको अति जोखिम क्षेत्रमा रहेका ५ घर परिवारलाई भने सुरक्षित स्थानमा सारिएको समेत जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts