राष्ट्रपति निर्वाचनको नतिजाविरुद्ध पोल्याण्डमा प्रदर्शन

अरुलाई पनि शेयर गरौ !

रासस/सिन्ह्वा
वार्सा । पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरूले विरोध प्रदर्शन गरेका छन् । प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरीसमेत दायर गरिएको छ ।
उजुरीमा वर्तमान राष्ट्रपतिसमेत रहनुभएका र अहिलेको निर्वाचनबाट फेरि निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ । उनीहरूले अहिलेको नतिजालाई अस्वीकार गरिने घोषणासमेत गरेका छन् ।
गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१।०३ प्रतिशत र अर्का उम्मेदवार त्रजास्कोवस्कीको पक्षमा ४८।९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो । दुई उम्मेदवारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशङ्का गर्न सजिलो भएको विश्लेषकहरूले बताएका छन् ।
चुनाव प्रचारप्रसार अभियानका क्रममा वर्तमान राष्ट्रपति डुडाको पक्षमा राज्यका निकायहरू परिचालित भएको विपक्षीहरूले आरोप लगाएका छन् । उनीहरूले उजुरीमा यही कुरालाई मुख्य रुपमा उल्लेख गरेर धाँधली भएको जिकिर गरेका हुन् ।
विपक्षीहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दल सिभिक कोलिसनका सांसद बार्बारा नोवाचाले भन्नुभयो, “डुडाको पक्षमा राज्य शक्ति र श्रोत साधन नै परिचालन गरिएकाले धाधली भएको स्पष्ट देखिएको छ, त्यसैले हामीले यसलाई अस्वीकार गर्ने भएका हौँ ।” पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म र साना विपक्षी दलहरू मिलेर सिभिक कोलिसन बनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts