ताप्लेजुङमा भेटिएका थप २ जना कोरोना संक्रमित निको भएर घरफिर्ता,१ जना भने थपिए
ताप्लेजुङ,असार ३१ । ताप्लेजुङमा भेटिएका थप २ जना कोरोना संक्रमितले ११ दिनकै अवधिमा कोरोनालाई जितेर बुधवार घर फर्किदा १ जना कोरोना संक्रमित भने थपिएका छन् । संक्रमित २ सहित ३० जनाको पीसीआर परीक्षणका लागि पठाईएकोमा उनीहरुसहित २९ जनाको परीक्षण रिर्पोट नेगेटिभ र १ जनाको पोजेटिभ आएको छ । साउदी अबरबाट फर्किएका मेरिङ्देन गाउँपालिकाका ४२ बर्षे पुरुष कोरोना संक्रमित फेला परेका हुन् । उनी यहाँ भेटिएका पहिलो कोरोना संक्रमित संगै क्वारेन्टिनमा थिए । पहिलो कोरोना संक्रमित पनि कोरोनामुक्त भएर घर फर्कि सकेका छन् । कोरोना जितेर फर्किएका फुङ्लिङ नगरपालिकाकी एक महिला र पाथीभरा याङ्वरक गाउँपालिकाका एक पुरुषलाई भने सोमवार पुष्पगुच्छासहित बिदाई गरिएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले उनीहरुलाई कोरोना जित्न सफल भएकोमा बधाई दिदैं केहिदिन सर्तकपूर्वक होम क्वारेन्टिनमा बस्न आग्रह गर्दै बिदाई गरेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,उपप्रमुख बमबहादुर भट्टराई(तारा),प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,जिल्ला प्रहरी प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठ,शसस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति(डिएसपी)यदुकुमार कार्की,राष्ट्रिय अनुसन्धान कार्यालय ताप्लेजुङका प्रमुख दुर्गा चापागाँईसहितले कोरोनालाई जित्न सफल भएकोमा दुबैलाई बधाई दिदैं अझै केहिदिन सावधानीपूर्वक घरमै बस्न आग्रह गर्नु भएको छ । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले उच्च मनोवल र सावधानी अपनाए कोरोनालाई सहजै जित्न सकिन्छ भन्ने उदाहरण पुष्टी भएको बताउनुभयो । जिल्ला आर्युबेदिक कार्यालय ताप्लेजुङका प्रमुख टेकनाथ अर्यालले आर्युबेदिक औषधि,उच्च मनोवल र आत्मबिश्वासले कोरोनालाई परास्त गर्न सकिने बताउनुभयो । संक्रमित पुष्टी भई ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका उनीहरुलाई आर्युबेदिक कार्यालयले गुर्जो,सुठो र पिप्ला सहितको मिश्रण भएको चिया सहितका आर्युबेदिक औषधि समेत दिएको बताएको छ । यसैबीच बुधवार थपिएका १ जना कोरोना संक्रमितलाई अहिले क्वारेन्टिन रहेकै केन्द्र भानुजन माविको आवास कक्षमै राख्ने तयारी गरिएको छ ।
फोटो ः कोरोनालाई जितेर घर फर्किन लागेका २ जनालाई बुधवार पुष्पगुच्छा सहित बिदाई गर्दै कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङको टिम । तस्बिर ः उज्यालो पोष्टन्युज