परनिर्भरता तोड्न आफैं उद्यमी बन्न कसिदैं ताप्लेजुङका युवायुवती

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी रीता बराल पोखरेललाई सिकेको सीप प्रयोग गर्न सकेमा अहिले सम्म श्रीमान्संगको परनिर्भरता हट्ने आत्मबिश्वास पलाएको छ । उहाँले खुलेरै भन्नु भएको छ,जाँगर चलाउँछु र आफुसंग भएको सीपको अधिक प्रयोग गरेर आफैं आत्मनिर्भर बन्छु’ । सिदिङ्वा गाउँपालिका वडा नं ३ आङ्खोपका हर्क ताम्लिङ लिम्बूलाई बिद्युतीय कार्यका लागि गाउँको सहजकर्ता बन्ने जोस छ । भन्नुहुन्छ न्‘अब कामकै लागि बिदेश जाने सोच तत्काललाई ट¥यो’ । हातमा सीप भएछि बैदेशिक रोजगारीमै जानै परेपनि उनलाई खासै संकोच छैन । पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ४ डुम्रिसेकी निर्मला खोयाहाङ समयले साथ दिए यसैबर्षबाट गाउँमै उद्यमी बन्ने सोचमा हुनुहुन्छ । बुटिक बनाउने तालिम लिनु भएकी उहाँलाई स्तरीय कपडामा बुटिक भरेर गाउँमै बिक्री गर्ने सौख छ । गाउँमै उद्यम सृजना गरेर आफैं आत्मनिर्भर बन्ने योजनामा रहनु भएकी निर्मला बुटिकको प्रारम्भिक बजार खोजीमा हुनुहुन्छ । कोरोना महामारीले कयौं मानिसले रोजगारी गुमाएको व्यथा व्यहोरेका,कथा पढेका र सुनेका मानिसहरुका लागि सीपलाई सृजनामा बदल्ने योजनामा रहेका उद्यमीउन्मुख उल्लेखितहरुको बिचारले शक्ति सृजनाका लागि साहस दिएको छ । आफैं उद्यमी बनेर परनिर्भरता हटाउने योजना चानचुने बिषय होईन । ‘यो सोच साँच्चै हृदयदेखि नै पलाएको हो भने मान्छेले आफुमात्र होईन,समाज पनि बदल्न सक्छ’कञ्चनजंघा महिला विकास केन्द्रका कार्यकारी निर्देशक गोपाल न्यौपानेले भन्नुभयो । कञ्चनजंघा महिला विकास केन्द्रले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत यहाँका करिव १ सय २० जनालाई उद्यमी बनाउने गरी सीप प्रदान गरेको छ । उद्योग अधिकृत देउप्रकाश तामाङ अहिलेको कठिन परिस्थितिमा मान्छेले आफैं आत्मनिर्भर हुने सोच राख्नु र योजना बनाउनुलाई भबिष्य बदल्ने संकेतको रुपमा लिनुहुन्छ । सीप लिएका तर उद्यम सृजनाका लागि कठिनाई झेल्दै आएकाहरुलाई घरेलुले उद्यमी बन्न चाहेका बखत सहुलियतपूर्ण प्रविधि हस्तान्तरण गर्ने तामाङले बताउनुभयो । उहाँले प्राविधिक सीप विकास अनुशिक्षणका लागि समेत घरेलु कार्यालय तयार रहेको जानकारी दिनुभयो । घरेलु कार्यालय ताप्लेजुङका खरिदार निर्जा भट्टराई उद्यमी बन्ने ईच्छाशक्ति भएका तर प्रविधिका कारण उद्यमी बन्न नसकेका सदस्यहरुका लागि घरेलुले प्रविधि र प्राविधिक सहयोग सहितको अचुक उपाय दिने बताउँनुहुन्छ । स्थानीय तहसंगको साझेदारीमा भएपनि आफुहरुले उद्यमी बन्नेहरुका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । तर,सीपलाई उद्यममार्फत व्यहारिक प्रयोग गर्न भने पछि पर्न नहुने उहाँको भनाई छ । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेन सीपलाई उद्यममा बदल्ने तीव्र ईच्छा भएकाहरुलाई रकम र प्रविधिको अभाव नहुने बताउँनुहुन्छ । उद्यमका लागि योजना बनाउने र त्यो योजनालाई सहयोगी निकायमा लैजाने हो भने घरेलु उद्यम सृजनाका लागि खासै समस्या नभएको उहाँले बताउनुभयो । उद्यम सृजनाका लागि स्थानीय तह,घरेलु कार्यालय र गैर सरकारी संस्थाले प्रविधि र प्राविधिक ज्ञानमा सहयोग गर्न सक्ने र सहि योजनाका आधारमा बैंक तथा बित्तीय संस्थाले लगानी गर्न सक्ने भएकोले उद्योग स्थापनाका लागि खासै ठूलो कठिनाई नहुने मादेनको बिश्वास छ । बरु उद्यममार्फत तयार भएका सामग्रीको बजार व्यवस्थापनका लागि भने घरेलु कार्यालयले उद्यमीहरुलाई सहजीकरण गर्नुपर्ने उहाँले सुझाउनुभयो । कञ्चनजंघा महिला विकास केन्द्रले चालू आर्थिक बर्षमा १ सय ५५ जनालाई उद्यमी बनाउने गरी सीप प्रदान गर्ने योजना बनाएको थियो । त्यसमध्ये सिरिजङ्घा गाउँपालिकामा भने लक डाउन सहितका कठिनाईका कारण कार्यक्रम सञ्चालन हुन सकेन र ३५ जना उद्यमी बन्न ईच्छुकहरुले सीप हासिल गर्न पाएनन् । केन्द्रका कार्यकारी निर्देशक न्यौपानेका अनुसार चालू आवमा १ सय २० जनालाई उद्यमी बन्नेगरी सीप प्रदान र १ सय १८ जनालाई उपयुक्त प्रविधि हस्तान्तरण गर्न सकिएको छ । समुदायको माग र त्यहाँको आवश्यकता अनुसार बुटिक,हाउस वेयरिङ,ढाका बुनाई,शुद्ध तरकारी बाली उत्पादन,दुग्धजन्य परिकार बनाउने,होटल व्यवस्थापन र डल बनाउने सहितका तालिम प्रदान गरिएको कञ्चनजंघा महिला विकास केन्द्रले जनाएको छ ।

फोटो ः ताप्लेजुङको आङ्खोपका युवाहरु हाउस वेयरिङ सम्वन्धी तालिम लिदैं । तस्बिर ः उज्यालो पोष्ट ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts