आइसोलेसन कक्ष भरिएपछि विराटनगरका संक्रमित घरमै
विराटनगर,साउन १५ । प्रदेश सरकारले निर्माण गरेका दुईवटा आइसोलेसन कक्ष भरिएपछि विराटनगरका कोरोना संक्रमित घरमै बसेका छन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसन भरिएपछि विराटनगरका संक्रमित घरमै बसेका हुन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ५० र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ बेड क्षमताको आइसोलेसन बनाएको छ । लेभल थ्रीको अस्पताल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले लक्षण नदेखिएका संक्रमितलाई भर्ना लिएको छैन । आइसोलेसन कक्ष भरिएका कारण संक्रमितलाई स्थानान्तरण गर्न समस्या भएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । कोरोना संक्रमितलाई घरमै छाड्दा संक्रमण फैलनसक्ने जोखिम उच्च रहेको उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलीका अनुसार बुधबारसम्म १५ जना संक्रमित होम आइसोलेसनमा थिए । उहाँले भन्नुभयो ‘बेड खाली छैन । घरमै राख्दा संक्रमण फैलने जोखिम हुन्छ ।’ बिहीबार संक्रमण पुष्टि भएका थप ७ जनालाई पनि कहाँ राख्ने भन्ने टुंगो छैन । जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले विराटनगरसहित अन्य केही क्षेत्रका संक्रमितलाई स्थानान्तरण गर्न बेड अभाव भएको बताउनुभयो । बिहीबार केही व्यक्ति डिस्चार्ज हुने भएकाले उनीहरुको स्थानमा नयाँ संक्रमितलाई राखिने उहाँले बताउनुभयो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली आइसोलेसनको जिम्मा प्रदेश सरकारको रहेको बताउनुभयो । ‘स्थानीय सरकारको जिम्मा क्वारेन्टिन हो । हामीले क्वारेन्टिन बनाएका छौं’ उहाँले भन्नुभयो ‘आइसोलेसनको जिम्मा प्रदेश सरकारको हो, प्रदेश सरकारले पहल गरिदिए हुन्छ ।’ आइसोलेसन बेड अभाव भएपछि विराटनगर अस्पतालाई आइसोलेसन बनाउने माग उठेको छ । विराटनगर अस्पताल बन्द अवस्थामा छ यसलाई आइसोलेसन अस्पताल बनाउने पहल गरौं ।’ विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल भन्नुहुन्छ ‘प्रदेश सरकारले पहल गरिदियो, हामी न्यूनतम भाडा तिर्न तयार छौं ।’ पछिल्लो समय स्वास्थ्यकर्मीसहित १२ जना संक्रमित भएपछि निसंक्रमणका लागि यो अस्पतालको सेवा बन्द गरिएको छ । स्रोत ः अनलाईन खबर