|

आज धान दिवसः ताप्लेजुङमा १४ प्रतिशत रोपाइँ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असार १५ । ताप्लेजुङमा असार दोस्रो साता सम्ममा १४ प्रतिशत धान रोपाइँ भएको छ । बन्दाबन्दी खुकुलो भएपछि अर्थात जेठको अन्तिम सातादेखि रोपाइँ गर्न थालेका किसानले हालसम्म १४ प्रतिशत मात्र रोपाइँ सम्पन्न गरेका हुन् ।
हिमाली जिल्ला ताप्लेजुङमा जेठ महिनाको दोस्रो सातादेखि रोपाइँ सुरु गरिन्छ । तर, यसवर्ष रोपाइँ सुरु गर्ने समयमा वर्षा भई दिए पनि कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण काम गर्नलाई सहज नभएपछि किसानले रोपाइँ सुरु गर्न ढिलाइ गरेका हुन् । रोपाइँ गर्नलाई वर्षाले साथ दिए पनि कोभिड–१९ को त्रासले प्रभाव पारेको किसान बताउँछन् ।
असारपछि भने किसानले धमाधम रोपाइँ सुरु गरेका र हालसम्म १४ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख भरत बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार अहिले ताप्लेजुङ र पाँचथर दुवै जिल्लामा रोपाइँ कार्य धमाधम हुँदै आएको छ । यसअघिका वर्षहरुमा जेठ मसान्तभित्रै १० देखि १५ प्रतिशतसम्म रोपाइँ सम्पन्न हुने गरेको थियो ।
कोरोनाको महामाहरीसँगै बन्दाबन्दी भएपछि सहजगरी काम गर्न सम्भव नभएकाले तुलनात्मक रुपमा रोपाइँ थोरै मात्र भएको हो । कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको आठ हजार ३८ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । उक्त क्षेत्रफलमध्ये हालसम्म एकहजार १२५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको सम्पर्क कार्यालयले जनाएको छ ।
यता सोमबार राष्ट्रिय धान दिवसका दिन ताप्लेजुङमा कुनैपनि औपचारिक कार्यक्रम गरिएको छैन । धान दिवसमा पाँचथर र ताप्लेजुङ दुवै जिल्लाको सहभागितामा पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पूमा रोपाइँको कार्यक्रम गरिएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख बिष्टले जानकारी दिनुभयो । स्थानीय पारिजात महिला कृषक समूह थर्पूको आयोजना तथा कृषि ज्ञान केन्द्र पाँचथर र सम्पर्क कार्यालय ताप्लेजुङको सहभागितामा धान दिवस मनाइएको बिष्टले बताउनुभयो ।
ताप्लेजुङबाट किसानको सहभागिता नरहे पनि ज्ञान केन्द्र तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनका कर्मचारीहरुको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । धान दिवसको कार्यक्रममा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटासहित स्थानीय जनप्रनिधि, किसान लगायतको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts