|

पर्यापर्यटनका लागि पदमार्गसहितका संरचना निर्माण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी–
ताप्लेजुङ, असार १५ । पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दृश्यस्थल (भ्यू पोइन्ट) को विकास गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहको क्षेत्राधिकारभित्र पर्ने जरिबुटे क्षेत्रलाई पिकनिक स्थलको रुपमा प्रवद्र्धन गर्न पदमार्ग निर्माण तथा त्यस क्षेत्रमा रहेको पोखरीको व्यवस्थापन गरिएको छ ।
प्रदेश सरकारमार्फत डिभिजन वन कार्यालयको ९ लाख ५० हजार तथा उपभोक्ता समूहको १ लाख ९० हजार जनश्रमदान गरी कूल ११ लाख ४० हजार रुपैयाँको लगानीमा पदमार्ग निर्माण तथा पोखरी संरक्षण तथा व्यवस्थापन कार्य सम्पन्न भएको वन उपभोक्ता समूहका सचिव पासाङ्रिता शेर्पाले जानकारी दिनुभयो । प्राकृतिक रुपले सौन्दर्यपूर्ण रहेको सो क्षेत्रलाई पिकनिक स्थलको रुपमा विकास गर्न सके वन उपभोक्ता समूहको आन्तरिक आय समेतमा वृद्धि हुने योजनासहित यो कार्यक्रम अघि बढाइएको डिभिजन वन कार्यालय प्रमुख वीरेन्द्र शाहले जानकारी दिनुभयो ।
सामुदायिक वन समूहको आन्तरिक आम्दानीमा वृद्धि गर्दै उपभोक्ता समूहका सदस्यहरुलाई लाभ पुग्ने दृष्टिले पर्यापर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारिएको उहाँले बताउनुभयो । यहि कार्यक्रम अन्तर्गत पाथीभरा याङ्वरक गाउँपालिका वडा नं २ थेचम्बुबाट वडा नं ३ तिरिङ्गेको धाप पोखरी क्षेत्रमा जाने १ हजार २५३ मिटर पदमार्ग निर्माण गरिएको छ । यो कार्यक्रम अन्तर्गत निर्माण भएको सबै पदमार्ग सोलिङ सहितको छ ।
प्राकृतिक रुपले धनी र सुबिधाले सम्पन्न बन्दै गएको धाप पोखरी क्षेत्र पिकनिक र घुमफिरका लागि मनोरम स्थलको रुपमा चिनिन्छ । पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुबाट तिरिङ्गे निस्कने सजिलो बाटो समेत त्यहि भएकोले दोहोरो फाइदालाई हेरेर लगानी गरिएको डिभिजनल वन अधिकृत शाहले बताउनुभयो । सिन्चेकु सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ता समूहको १ लाख ९० हजार रुपैयाँ बराबरको जनश्रमदानसहित ११ लाख ४० हजार रुपैयाँको लगानीमा सो पदमार्ग बनाएको उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र पौडेलले बताउनुभयो ।
पिकनिक तथा भ्रमण स्थलको रुपमा विकास गरिएको धाप पोखरी क्षेत्रमै गिद्धे पहरा, धाप पोखरी पार्क तथा सानो पाथीभरा मन्दिर स्थल निर्माण गरिएको छ । धाप पोखरीबाट निकै अग्लो स्थानमा रहेको गिद्धे पहराको माथिल्लो भागबाट पाथीभरा, कुम्भकर्णसहित वरिपरिका दृश्यहरु सजिलै नियाल्न सकिने भएकोले यो क्षेत्रमा घेराबार तथा बिश्रामस्थल सहितका संरचना विकास गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष खड्गबहादुर पौडेलले बताउनुभयो ।
उपभोक्ता समूहको १ लाख ९० हजार रुपैयाँ बराबरको जनश्रमदानसहित ११ लाख ४० हजार रुपैयाँको लगानीमा सयपत्री पोखरी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको त्यहाँ सानो पाथीभरा मन्दिर, एउटा प्वालबाट पाथीभरा याङ्वरक गाउँपालिका र आसपासका क्षेत्र हेर्न सकिने पानको पात आकारको प्वाल (जसलाई स्थानीयले ‘लभ होल’ भन्छन्) र गिद्धे पहरा घेराबार तथा बिश्रामस्थल निमास्ण गरिएको छ । ‘निकै सुन्दर र आकर्षक स्थलको रुपमा विकास गर्न लगानी भएको रहेछ’ निर्माण भएका संरचनाको स्थलगत अवलोकनपछि जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts