रोजगारी सृजनाको उद्देश्य सहित ताप्लेजुङमै पहिलो पटक ग्राफिक डिजाइन तालिम सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १२ । कम्प्युटर सफ्टवेयर प्रयोग गरेर भिजुअल सामग्री डिजाइन र कलाको माध्यमबाट सीप,श्रम र रोजगारी सृजनाको उद्देश्य सहित ताप्लेजुङमा पहिलो पटक ६ महिने ग्राफिक डिजाइन तालिम सुरु भएको छ ।

ग्राफिक डिजाइनका अन्तराष्ट्रिय सहजकर्ता बंगालादेशी नागरिक अनिक हुसेनको प्रारम्भिक प्रशिक्षण तथा अमन श्रेष्ठको दीर्घकालिन सहजीकरणमा भानुजन माविमा ग्राफिक डिजाइन तालिम सुरु भएको हो । ग्राफिक डिजाइनका अन्तराष्ट्रिय सहजकर्ता हुसेनका अनुसार तालिम अवधिभरमा ३२ श्रिंखला(च्याप्टर)का सिकाई हुनेछन् । यो भनेको तालिम मोडेल हो । ६ महिने कोर्षको पहिलो ३ महिना पूरै ग्राफिक डिजाइनका बारेमा प्रशिक्षार्थीलाई अवगत गराईने छ । १ महिना रोजगारीको खोजी कसरी गर्ने तथा रोजगार दिने माध्यम वा केन्द्रको पहिचान गर्ने तरिका बारे अवगत गराईने छ । बाँकी २ महिना भने रोजगारी पाएको छ की छैन भन्ने बारेमा नियमित अनुगमन(फलोअप)सहित रोजगारी पहिचानका सम्भावित उपायका बारेमा सहभागीलाई प्रशिक्षित र प्रोत्साहित गरिने छ । हुसेन लर्निङ एकेडेमीका प्रमुख हुनुहुन्छ । यो एकेडेमीमार्फत विश्वका १६ देशहरुमा अहिले ग्राफिक डिजाइन सम्वन्धी तालिम र प्रशिक्षणहरु भईरहेका छन् । अहिले सम्म यस्तो तालिम १६ हजार बिद्यार्थी माझ पुगेको हुसेनले जानकारी दिनुभयो ।

ह्युमन प्राटिक्स फाउण्डेसन(एचपीएफ)को आर्थिक तथा प्राविधिक व्यवस्थापनमा तालिम सुरु भएको एचपीएफका टिम लिडर अमित श्रेष्ठले बताउनुभयो । यो तालिम ताप्लेजुङ जिल्लाकै ईतिहाँसमा पहिलो पटक सुरु भएको हो । एचपीएफले भानुजन माविमा ‘आईसिटी हव’का लागि सहयोग गरेको छ । एचपीएफले त्यहाँ बिद्यालयको समेत आर्थिक साझेदारीमा आईसिटी केन्द्र निर्माणको तयारी गरिरहेको छ । भानुजन माविका प्रधानाध्यापक किशोरकुमार राईले तालिमबाट प्राप्त सीपले प्रविधिमैत्री बन्दै गएको विश्व बजारको एक कुनामा बसेर अर्को ठाउँको रोजगारीमा पहुँच स्थापित गर्ने सार्मथ्य राख्ने बताउनुभयो । रोजगारी भबिष्य सुनिश्चितता,प्रविधिमा नयाँ आयाम सृजना र क्षमता अभिबृद्धि तालिमको मुल लक्ष्यको रुपमा रहेको उहाँले जानकारी दिनुभयो । तालिममा २५ जना सहभागी हुनुहुन्छ । कोर्ष कोअर्डिनेटर दिनेश तुम्याहाङका अनुसार दैनिक ११ बजे देखि ३ बजे सम्म तालिम सञ्चालन गरिने छ ।

तालिमको उद्घाटन गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले प्रविधिमैत्री दुनियाँमा तालिम आत्मनिर्भर बनाउने एक महवपूर्ण अध्यायको रुपमा रहने बिश्वास लिनुभयो । उहाँले प्रविधिको उच्चतम् प्रयोगबाट रोजगारी सृजनामा टेवा पुग्ने गरी नगरपालिकाकोतर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो । नगर उपप्रमुख भीमादेवी ओझाले ताप्लेजुङमै नौलो रहेको तालिमले उच्च कोटीका ग्राफिक डिजाइजर उत्पादन गर्ने बिश्वास लिनुभयो । भानुजन मावि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर मादेनले तालिम अवधिभरको सबै समय सदुपयोग गर्ने हो भने प्राप्त सीप रोजगारी सृजनाको मूल आधार बन्ने बताउनुभयो ।‘तर सहभागीको तालिमप्रतिको लगाव र मेहनतले सिकाईमा ठूलो अर्थ राख्छ’मादेनले भन्नुभयो ।

भानुजन मावि बिद्यालय व्यवस्थापन समितिका सदस्य सन्तबहादुुर ऐङदेनले तालिम जिल्लाकै सम्पतिको रुपमा रहने बिश्वास लिनुभयो । कम्प्युटर सफ्टवेयर प्रयोग गरेर भिजुअल सामग्री डिजाइन र सृजना गर्ने व्यक्तिलाई ग्राफिक डिजाइनर भनिन्छ । ग्राफिक डिजाइनरहरूले विज्ञापन एजेन्सी, ग्राफिक र वेब डिजाइन फर्महरू, डिजिटल डिजाइन एजेन्सीहरू,मुद्रण घरहरू, समाचारपत्र र संस्थाहरूको डिजाइन वा सोशल मिडिया विभागहरूमा रोजगारीका अवसरहरू प्राप्त गर्न सक्ने बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts