|

ताप्लेजुङको सिँवा बजारमा ग्लोबल आइएमइ बैंकको शाखा रहित बैकिङ सेवा सुरु,प्रभावकारी सेवा बितरण स्थानीयको अपेक्षा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमस्थित सिँवा बजारमा ग्लोबल आइएमइ बैंकको शाखा रहित बैकिङ सेवा(बीएलबी)सुरु भएको छ । सिँवा बजारमा सुरु भएको शाखा रहित बैंकिङ सेवा ग्लोबल आइएमइ बैंकको २ सय ६१ औं शाखा रहित सेवा केन्द्र हो । देशभरका ७७ जिल्ला मध्ये ७६ जिल्लामा सेवा प्रवाह गर्दै आइरहेको ग्लोबल आइएमइ बैंकका देशभर २ सय ९३ वटा शाखा रहेका छन् । ग्लोबल आइएमइ नेपाल राष्ट्र बैंकबाट‘क’वर्गको इजाजतप्राप्त २७ वटा बित्तीय संस्थामध्ये सबैभन्दा बढी चुक्तापुँजी भएको बाणिज्य बैंक हो । यसको चुक्तापुँजी झण्डै साढे २२ अर्ब रहेको छ । ग्लोबल आइएमइले बैंकले ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि केन्द्रसमेत गरी ८ सय ४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । शाखा रहित बैंकिङ सेवा सुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले प्रसन्नता व्यक्त गर्दै अब फक्ताङ्लुङ गाउँपालिकाको आधा भूगोलको बैंकिङ कारोवारको दायित्व लिइदिन बैंकसंग आग्रह गर्नु भएको छ । सामाजिक सुरक्षाभत्ता बितरणलाइ अनिवार्य बैंकिङ प्रणालीमार्फत भुक्तानी हुनुपर्ने सरकारी नियमको पालनाका लागि पनि अब वाडैपिच्छे बैंकिङ सेवा अनिवार्य भइसकेको उहाँको भनाइ थियो । भूगोलका हिसावले पनि फक्ताङ्लुङ बिकट र ठूलो रहेकोले गाउँपालिकाको केन्द्रमा रहेको ग्लोबल आइएमइ बैंकको शाखाले पालिकाभरीका जनतालाइ बैंकिङ सेवा प्रदान गर्न कठिनाइ रहेको भन्दै उहाँले सिँवामा खुलेको शाखारहित बैंकिङ सेवाप्रति स्थानीय जनताले ठूलो भरोसा गरेको बताउनुभयो । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बैंकिङ सेवा सुरुआतले नगद कारोवार व्यवस्थापन र सम्पति सुरक्षणमा सघाउ पुग्ने बताउनुभयो । ग्रामीण भेगका जनताले समेत बैंकिङ कारोवार गर्न पाउने अवसर सृजना हुनु खुसीको बिषय भएको बताउँदै उहाँले शाखा रहित बैंकिङ सेवा सुरुआत गर्ने ग्लोबल आइएमइ बैंकप्रति आभार प्रकट गर्नु भएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं २ खेजेनिमका वडाध्यक्ष हर्कसिंह पराजुलीले बैंकिङ सेवा भरपर्दो हुनुपर्नेमा जोड दिनुभयो । भरपर्दो सेवा प्रवाह भएमा पालिकाकोतर्फबाट गर्ने सहयोगमा कुनै कमी नआउने बिश्वास समेत उहाँले दिलाउनुभयो । वडा नं ३ लिङ्खिमका वडाध्यक्ष आइतराम लिम्बूले बैंकिङ सेवा आफ्ना लागि सम्पति भएकोले यसको संरक्षण र जगर्नेमा आफुहरुको ध्यान जाने बताउनुभयो । सेवा भरपर्दो भएमा मात्र जनताले बैंकिङ सेवाप्रति विश्वास राख्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ का वडासदस्य तेजबिर लिम्बू,स्थानीय लब्धप्रतिष्ठित शेरबहादुर पतङ्वा, नरपति पौडेल(लिम्बू) र सिँवा माध्यमिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मचिन्द्र लिम्बू लगायतले बैंकिङ सेवा सुरुआत प्रति प्रसन्तता व्यक्तगर्दै प्रभावकारी सेवा बितरणमा समस्या आउन नहुने बताउनुभयो । ग्लोबल आइएमइ बैंकको फुङ्लिङ शाखाका कार्यवाहक शाखा प्रवन्धक हिमालय भट्टराईले शाखा रहित बैंकिङ सेवा र सो सेवा केन्द्रबाट बितरण हुने सेवा प्रवाहको पद्धति बारे जानकारी गराउनु भएको थियो । उहाँका अनुसार सो शाखा रहित बैंकिङ सेवाबाट एउटा व्यक्तिले दुईपटकमा गरी अधिकतम् २०–२० हजार रुपैंयाका दरले रकम राख्न र झिक्न सक्नेछन् । सामाजिक सुरक्षा खाता खोल्ने,अन्य व्यवसायिक खाता सञ्चालन गर्ने,कर्जा प्रवाहको निबेदन र आवश्यक प्रारम्भिक प्रकृया सुरु गर्ने कार्य पनि यहिँ शाखा रहित बैंकिङ सेवा केन्द्रको सहजीकरणमा फुङ्लिङ वा फक्ताङ्लुङ शाखाबाट गर्न सकिने उहाँले बताउनुभयो। तर यहिँ शाखामार्फत कर्जा प्रवाहको अन्तिम निर्णय,सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरुआत र मोटो परिमाणका रकमको कारोवार भने हुन सक्ने अवस्था तत्काल नरहेको उहाँले जानकारी दिनुभयो । शाखा रहित बैंकिङ सेवा(बिएलबी) पोर्ट मेसिनको सञ्चालन र यसको उपयोगिता तथा सेवा केन्द्रमार्फत ग्लोबल आइएमइ बैंकका फुङ्लिङ र फक्ताङ्लुङ शाखासंगको समन्वयका बारेमा ग्लोबल आइएमइ बैंकको फुङ्लिङ शाखाका अपरेशन इञ्चार्ज हिमाल गौतमले जानकारी गराउनुभयो । कार्यक्रममा ग्लोबल आइएमइ बैंकको फुङ्लिङ शाखाका दीपकराज गिरीले अथितिहरुलाइ स्वागत गर्दै शाखारहित बैंकिङ सेवाको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा ग्लोबल आइएमइ बैंकको फक्ताङ्लुङ शाखा प्रवन्धक सुदन थापा,फुङ्लिङ शाखाका जीवन चाम्लिङ,इन्द्रप्रसाद भट्टराई र अनुषा मिश्र काफ्ले तथा बिएलबी सिँवा काउन्टर प्रमुख प्रेमप्रसाद निरौलासमेतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts