शिक्षक खड्गबहादुर हत्या प्रकरण ः दोषीलाइ ताप्लेजुङ अदालतद्धारा जन्मकैद सहित थप ५ बर्ष कैद सजायको फैसला

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १९ । जिल्ला अदालत ताप्लेजुङले मेरिङदेन गाउँपालिकाका एक शिक्षक हत्या प्रकरणका मुख्य दोषीलाइ जन्मकैद सहित हातहतियार तथा खरखजाना मुद्दामा थप ५ बर्ष कैद सजाय हुने फैसला सुनाएको छ । मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्गबहादुर लिम्बुलाई भरुवा बन्दुक प्रहार गरेर मनसायपूर्वक हत्या गरेको अभियोगमा मुख्यदोषी ठहर भएका सोहि ठाउँका ३० वर्षीय प्रताप भन्ने आकाश लिम्बूबाट अदालतले क्षतिपूर्ति र जरिवाना सहित ३ लाख रुपैंया भराउने फैसला समेत गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको इजलासले लिम्बूबाट पीडित परिवारलाई २ लाख ५० हजार रुपैंया क्षतिपूर्ती तथा ५० हजार जरिवाना सरकारी कोषमा भराउन आदेश दिएको हो । अदालतले हत्या अभियोगमा जन्मकैद र हातहतियार तथा खरखजाना (भरुवा बन्दुक) मुद्धा शिर्षकमा थप ५ वर्ष कैद र क्षतिपूर्ति तथा जरिवाना हुने आदेश दिएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले जानकारी दिनुभयो । शिक्षक हत्या कसुरमै मैवाखोला गाउँपालिका वडा नं १ ढुङेसाँघुका ३६ वर्षीय कान्छा काजी भन्ने काजीमान वनेम लिम्बूलाई अदालतबाट २ वर्ष ६ महिना कैदको फैसला भएको छ । उहाँलाइ २५ हजार जरिवाना समेत ताकिएको छ । अदालतले पीडित राहत कोषमा २ हजार ८ सय रुपैयाँ समेत भराउने फैसला गरेको छ । मृतककी पत्नी ४९ वर्षीया सुखमाया लिम्बूले हत्या आरोपमा गत वैसाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । आरोपितमध्ये आकाश र काजीमानलाई बैशाख ९ गते नै प्रहरीले पक्राउ गरेको थियो । आरोपितद्धय आकाश र काजीमान बिरुद्ध २०७८ जेठ ३ गते अदालतमा मुद्धा दर्ता भएको थियो । उहाँहरुलाई २०७८ जेठ ४ गते पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश थियो । यसैबीच अर्का आरोपित ५९ वर्षीय झिगुटी जन्तरे भनिने खेमराज वनेमलाई भने गत असोज १४ गते नै अदालतले सफाई दिइसकेको छ । आरोपित खेमराज जिल्ला अदालतको गत असार २७ गतेको आदेश अनुसार पुर्पक्षका लागि ५० हजार धरौटी बुझाएर तारेखमा छुट्नु भएको थियो । प्रतापले भरुवा बन्दुक काजीमान लिएको भन्नु भएको थियो । काजीमानले पनि बन्दुक खेमराजबाट लिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । गत बैशाख ९ गते बेलुकी साढे ५ बजे शिक्षक खड्कबहादुरको घरनजिक लुकेर बसेका लिम्बूले हानेको बन्दुकको गोलीले उहाँको घटनास्थलमै मृत्यू भएको थियो । मृतक सान्थाक्रास्थित श्री जालपादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षक हुनुहुन्थ्यो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts