| |

जोखिममा परेका बालबालिकालाई सहयोग आवश्यक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ९ ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा शनिबार आयोजित एक कार्यक्रममा सरोकारवालाले जोखिममा परेका बालबालिकाका लागि सहयोगको अभाव रहेको बताएका छन् । आवश्यक सहयोगको अभाव साथै बेवास्ताले जोखिममा परेका बालबालिका थप जाखिममा पर्ने गरेका सरोकारवालाले बताएका हुन् ।
मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको अन्तर्क्रिया तथा पत्रकार सम्मेलनमा असहाय र जोखिममा परेका बालबालिकाका लागि सबैले सहयोग गर्नुपर्ने सरोकारवालाले जोड दिएका थिए । शिक्षा दिक्षासहित सम्भव हुने सम्मको सहयोग त्यस्ता बालबालिकाले पाएमा उनीहरुको भविश्य निर्माणमा टेवा पुग्ने सरोकारवालाले बताएका छन् ।
कार्यक्रममा वातावरण संरक्षण तथा विकास मञ्च (ईसीडीएफ) ताप्लेजुङका अध्यक्ष कुमार शिवाले असहाय तथा जोखिममा परेका बालबालिकालाई सम्भव भएमा व्यक्तिगत रुपमा भए पनि सहयोग गर्नुपर्ने बताउनुभयो । शिवाले जोखिम परेका बालकालिकाको अवस्थाबारे बालबालिकाको अधिकार तथा संरक्षणको क्षेत्रमा काम गर्ने संस्था वा निकायलाई सूचना दिएर भएपनि उनीहरुको उद्दारकमा सहयोग गर्न सकिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष आनन्द गौतमले जोखिममा परेका बालबालिकाको आफैंले उद्दार गर्न नसकेपनि उनीहरुको अवस्थाबारे सञ्चारमाध्यममार्फत उजागर गरेर सहयोग गर्न सकिने बताउनुभयो । जोखिममा रहेका बालबालिका फेला परेमा वा सम्पर्कमा आएमा आफू सम्वद्ध सञ्चारमाध्यम साथै बालबालिकाको अधिकार र संरक्षणमा क्रियाशील निकायलाई सञ्चारकर्मीले सूचना दिनुपर्ने गौतमको भनाइ थियो ।
यसरी नै मानव अधिकार मञ्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वाकर्माले सामान्य अवस्थासँगै कोभिड–१९ को महामारीका समयमा बालकालिकाहरु अझ बढी जोखिम पर्नसक्ने भएकाले यसतर्फ सबैको ध्यानाकृष्ट हुनुपर्ने बताउनुभयो । विश्वकर्माले जोखिममा रहेका बालबालिकाको उद्दार तथा सहायताका लागि स्थानीय सरकारले बालमैत्री कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिनुभयो ।
मानव अधिकार मञ्च नेपाल, बाल हेल्पलाइन १०९८ इलामका प्रमुख भक्तबहादुर थामीले जोखिममा रहेको बालबालिकाको अवस्थाबारे जानकारी भएमा संस्थाको सहजीकरणमा उद्दार तथा सहयोग पुग्ने बताउनुभयो । थामीले जिल्लाका कुनैपनि क्षेत्रमा त्यस्ता प्रकृतिका बालबालिका भएमा बाल हेल्पलाइन १०९८ मा तत्काल सम्पर्क गर्न पनि सबैसँग आग्रह गर्नुभयो । उहाँले बालबालिकालाई जोखिमबाट मुक्त गराउनका लागि सबैको सहयोग आवश्यक रहेको पनि बताउनुभयो ।
मानव अधिकार मञ्च नेपाल इलामले बाल हेल्पलाइन १०९८ एवम् कोभिड–१९ को समयमा विपद सहयोग परियोजनामार्फत इलामसहित झाफा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको केही क्षेत्रमा काम गर्दै आएको जनाएको छ । मानव अधिकार मञ्च नेपालको कार्यक्षेत्र भने प्रदेश १ भर विस्तार गरिएको पनि संस्थाले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts