ताप्लेजुङमा कोरोना संक्रमणको अवस्था ः शहरमा नियन्त्रणउन्मुख,गाउँमा बढेको बढ्यै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १९ । शहरी क्षेत्रमा नियन्त्रण उन्मुख देखिएको कोरोना संक्रमण अहिले ताप्लेजुङका गाउँ–गाउँमा भने ब्यापक भएको छ । सदरमुकाम फुङ्लिङ नगर क्षेत्रमा संक्रमणको दर अचाक्ली भएको अवस्था अहिले ठीक उल्टो अवस्थामा रहेको पाइएको हो । सबैभन्दा बढी कोरोना संक्रमित अहिले आठराइ त्रिबेणी गाउँपालिकामा रहेका छन् । त्यहाँ अहिले १ सय ७१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार २ सय ५३ जनामा संक्रमण देखिएको आठराइ त्रिबेणीमा ८२ जना मात्र संक्रमणमुक्त भएका छन् । अरु पालिकामा संक्रमण दर उच्च हुँदा पनि निकै लामो समय सम्म सुरक्षित रहेका मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकामा पनि संक्रमण दर निकै ठूलो मात्रामा रहेको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको बिबरणमा उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयले दिएको बिबरण अनुसार मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकामा क्रमशः५९ र १६ जना संक्रमित रहेका छन् ।

तयारकर्ता ः स्वास्थ्य कार्यालय ताप्लेजुङ

८५ जना संक्रमित रहेको मिक्वाखोलामा २६ जना र ४० जना संक्रमित भएको फक्ताङ्लुङमा २६ जना संक्रमण मुक्त भएका छन् । जिल्लाभरमै सबैभन्दा कम संक्रमित पाथीभरा याङ्वरकमा देखिएका छन् । ३७ जनामा संक्रमण देखिएको त्यहाँ ३६ जना संक्रमणमुक्त भइ १ जना मात्र सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । मैवाखोला गाउँपालिकामा ३२ जना सक्रिय संक्रमित रहेका छन् । ५३ जनामा संक्रमण देखिएको त्यहाँ ५१ जना संक्रमणमुक्त भएका हुन् । ९२ जनामा संक्रमण देखिएको मेरिङ्देन गाउँपालिकामा ५४ जना संक्रमणमुक्त हुँदा ३८ जना अझै सक्रिय संक्रमित रहेका छन् । १ सय ३ जनामा संक्रमण देखिएको सिरिजंगा गाउँपालिमामा ५६ जना संक्रमणमुक्त हुँदा ४७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सिदिङ्वा गाउँपालिकामा भने ८ जना संक्रमित रहेका छन् । १४ जनामा संक्रमण देखिएको त्यहाँ ६ जना संक्रमणमुक्त भएका छन् ।
३६ प्रतिशत अझै संक्रमित
ताप्लेजुङमा कूल संक्रमित संख्याको आधारमा अहिले पनि करिव ३६ प्रतिशत सक्रिय संक्रमित रहेको पाईएको छ । कूल १ हजार १ सय ७३ जना संक्रमित भएकोमा ४ सय १६ जना अझै सक्रिय संक्रमित रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । यस आधारमा कूल संक्रमित मध्ये ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अनुसार करिव ६२.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
संक्रमणबाट थप एकको मृत्यु
ताप्लेजुङमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण भइ ताप्लेजुङ जिल्ला अस्पतालको कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको थप उपचारका लागि झापातर्फ लैजाने क्रममा मृत्यु भएको हो । यो सहित ताप्लेजुङमा कोरोना संक्रमणको दोस्रो भेरिएन्ट सुरु भएयता मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य कार्यालयले यसअघि नै १८ जनाको मृत्यु भइसकेको बिबरण सार्वजनिक गरिसकेको छ । तर जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको बिबरणमा भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ मात्र रहेको उल्लेख छ । कूल संक्रमित संख्यालाइ आधार मान्ने हो भने ताप्लेजुङमा १.६१ प्रतिशत मृत्युदर देखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts