| | |

आजदेखि एक सातासम्मलाई फुङ्लिङबजार बन्द, साँझ ६ बजेदेखि निषेधाज्ञा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २० ।
कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिम बढ्दै गएपछि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सोमबार आजदेखि बन्द गरिएको छ । यस्तै साँझ ६ बजेदेखि निषेधाज्ञा (कर्फ्यु) सुरु हुने छ ।
ताप्लेजुङ उद्योग बाणिज्य संघको आइतबारको बैठकको निर्णयअनुसार फुङ्लिङबजार सोमबारदेखि बन्द गरिएको हो । महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम जिल्लामासमेत बढ्दै गएपछि एक साता सम्मका लागि फुङ्लिङबजार बन्द गर्ने निर्णय गरिएको ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले जानकारी दिनुभयो । बजार बन्दको समयमा कुनैपनि पसल व्यवसाय खुल्ने छैनन् भने बाणिज्य संघले गरेको निर्णयलाई कडाइका साथ कार्यान्वयन हुने अध्यक्ष घिमिरेले बताउनुभयो ।
त्यस्तै आजै साँझदेखि निषेधाज्ञा पनि लागू हुने भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार साँझ ६ बजेदेखि एक सातासम्मलाई निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा आगामी बैशाख २७ गते राती १२ सम्म कायम रहने छ र निषेधाज्ञा तत्कालका लागि फुङलिङ नगरपालिकाभित्र लागू हुने भएको छ ।
निषेधाज्ञाको अवधिमा १० वर्षभन्दा कम उमेरका र ६० वर्षभन्दा माथिको उमेर समूहका कोही पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन् । अत्यावश्यक कामका लागि भने अनुमति लिएर घर बाहिर निस्कन सक्ने प्रजिअ पाण्डेले बताउनुभएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग निवारण ऐनअनुसार कारबाही हुने पनि स्थानीय प्रशासनले जनाएको छ ।
प्रजिअ पाण्डेका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपनि परीक्षण तथा उपचारको पहुँचमा नजाने, स्वाब दिएका र शंकास्पद व्यक्ति क्वारेन्टाइनमा नबसी हिड्डुुल गर्ने, अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनेलाई ऐनअनुसार कारबाही हुने छ । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएयता आठ दिनकै अवधिमा ताप्लेजुङमा तीन जनाले सङ्क्रमणकै कारण ज्यान गुमाइसकेका छन् भने सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts