आईपीएल ः मुम्बई पुनः शीर्ष स्थानमा

अरुलाई पनि शेयर गरौ !

अबुधाबी,असोज २१ । मुम्बई इन्डियन्सले आफ्नो लगातार विजय यात्रालाई जारी राख्दै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ । मुम्बईले मंगलबार राजस्थान रोयल्सलाई ५७ रनले पराजित ग¥यो । टस जितेको मुम्बईले अबुधावीस्थित शेख जायेद रंगशालामा ४ विकेट गुमाई १ सय ९३ रन बनायो । जवाफमा आएको राजस्थान १८.१ ओभरमा १ सय ३६ रनमै अलआउट भयो । इंग्लिस विकेटकिपर जोस बटलरले ४४ बलमा ७० रन बनाए पनि राजस्थानलाई विजय दिलाउन सकेनन् । प्रतियोगिताको पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित मुम्बईले त्यसपछिको ५ मध्येको ४ खेल जित्दै शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली क्यापिटल्सको पनि समान ८ अंक भए पनि मुम्बई राम्रो रन रेटमा शीर्ष स्थानमा छ । त्यसको विपरीत पहिलो दुई खेल जितेर शीर्ष स्थानमा रहेको राजस्थान त्यसपछिका लगातार तीन खेलमा हार बेहोर्दै सातौं स्थानमा झरेको छ । मुम्बईका स्ट्राइक बलर जस्प्रित बुमराहले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । त्यस्तै जेम्स प्याटिन्सनले ३.१ ओभरमा १९ र ट्रेन्ट बोल्टले ४ ओभरमा २६ रन खर्चेर २–२ तथा किइरन पोलार्ड र राहुल चहारले १–१ विकेट लिए । राजस्थानबाट बटलरबाहेक जोफ्रा आर्चरले ११ बलमा २४, टम कुरानले १५ र माहिपाल लोमरोरले ११ रन बनाए । यसअघि मुम्बईबाट सूर्यकुमार यादवले ४७ बलमा अविजित ७९ रन बनाएका थिए । उनले ११ चौका र २ छक्का प्रहार गरे । क्विन्टन डी कक १५ बलमा २३, कप्तान रोहित शर्मा २३ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ र क्रुनाल पाण्ड्या १२ रनमा आउट भए । हार्दिक पाण्ड्याले १९ बलमा २ चौका र १ छक्कासहित अविजित ३० रन बनाए । राजस्थानका श्रेयस गोपालले २ तथा आर्चर र कार्तिक त्यागीले १–१ विकेट लिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts