सडकबाट पल्टिएको ट्रयाक्टरलाई मैवाखोलाले बगाउँदा चालक सहित दुईजना वेपत्ता,खोजी कार्य तीव्र
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २२ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको वडा नं ३ हाङपाङदेखि गोलिया लिएर दोभानतर्फ आउँदै गरेको ट्रयाक्टर पल्टिई मैवाखोलाले बगाउँदा २ जना वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिन्देश्वर यादवका अनुसार बेपत्ता हुनेमा वतन नखुलेका ट्रयाक्टर चालक समिर बराईली र ट्रयाक्टरमा सवार अनिल नाल्वो रहेका छन् । सोमवार बिहान २ः४० बजे आठराई त्रिबेणी गाउँपालिका र मेरिङदेन गाउँपालिका जोड्ने भित्री सडक खण्डमा हाङपाङदेखि गोलिया लिएर दोभानस्थित अरुण भेनियरतर्फ आउँदै गरेको ट्रयाक्टर मैवाखोलामा बनेको पुलको छेउबाट करिव १५ मिटर तल खसी मैवाखोलामा पुगेको थियो ।
सडकबाट पल्टिएर खोलामा पुगेको अहिलेसम्म नम्बर नखुलेको ट्रयाक्टरलाई झरेको स्थानबाट करिव २० मिटर तल खोलाले बगाई बगरको देखिएको तर चालक बराइली र ट्रयाक्टरमा सवार नाल्वोलाई भने फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । उक्त घटना भएको जानकारी सोहि ट्रयाक्टरमा सवार १४ बर्षिय समिर नाल्वोले इलाका प्रहरी कार्यालय दोभानलाई जानकारी गराएपछि परिचालित भएको प्रहरी टोलीले उक्त घटनाको प्रारम्भिक अध्ययन तथा जानकारी लिएको हो । घटनाको थप अनुसन्धान तथा वेपत्ता सदस्यको खोजीका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको जानकारी दिएको छ ।