फुरुम्बुमा बाल विकास शिक्षकका लागि क्षमता विकास तालिम

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा बाल विकास शिक्षकहरुका लागि १० दिने क्षमता विकास तालिम आइतवारबाट सुरु भएको छ ।

भदौ २७ गतेसम्म सञ्चालन हुने तालिममा वडा नं १० मा रहेका ८ वटा सामुदायिक बिद्यालयका बाल शिक्षकहरु तालिममा सहभागी छन् । फुनपा वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले शैक्षिक सुधार र गुणस्तरीय शिक्षा प्रदान गर्न बाल शिक्षकहरुको क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वाससहित वडा कार्यालयले तालिमको आयोजना गरेको जानकारी दिनुभयो ।

तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख भीमादेवी ओझाले स्थानीय सरकारको जिम्मेवारीमा रहेको माध्यमिक तहसम्मको शिक्षाको अधिकारको उचित उपयोगका लागि सार्वजनिक शिक्षा सुधार पहिलो प्रयासको रुपमा रहने बताउनुभयो । नगर उपप्रमुख ओझाले शिक्षाको आधार वा जग मानिएको बाल शिक्षालाई प्रभावकारी बनाउने ध्येयका साथ तालिमको आयोजना गरेकोमा वडालाई धन्यवाद समेत दिनु भएको छ ।

कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं १० का वडा सदस्यद्धय प्रेमकुमार लिम्बू र पम्फा दमाई,मयाम मावि फुरुम्बुका प्रधानाध्यापक मानबहादुर कार्कीसहित वडामा रहेका बिद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्थिति रहेको वडासचिव(अधिकृत छैटौं)सचिन रेग्मीले जानकारी दिनुभयो । तालिमको सहजीकरण बिषय विज्ञ सन्तकुमार राई सहितले गर्नुहुने भएको छ ।

Similar Posts