सिदिङ्वाले जित्यो अन्तर पालिकास्तरीय भलिबल उपाधि
-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १६ । ताप्लेजुङको सिदिङ्वामा सम्पन्न अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै सिदिङ्वाले उपाधि जितेको हो ।
सोमबार भएको फाइनल खेलमा सिदिङ्वाले २५–२२, २५–१८ र २५–२० को सेटमा जित हासिल गरेको थियो । उपाधि जितसँगै सिदिङ्वाले दुई लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको पाथीभरा याङ्वरकले एक लाख रुपियाँ नगदमा चित्त बुझाउनु परेको छ ।
सिदिङ्वा गाउँपालिकाका खेल प्रशिक्षक शिव तोलांगी (एसी) का अनुसार सेमिफाइनल खेलमा सिदिङ्वाले सिरिजंघा गाउँपालिका र पाथीभरा याङ्वरकले मेरिङ्देन गाउँपालिकालाई पराजित गर्दै फाइनल पुगेका थिए । प्रतियोगितामा जिल्लाकौ नौ स्थानीय तहमध्ये सिदिङ्वा, पाथीभरा याङ्वरक, सिरिजंघा, मेरिङ्देन र मिक्वाखोला गाउँपालिका सहभागी भएको तोलांगीले जानकारी दिनुभयो ।
उपाधि विजेता र उपविजेतालाई सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), सिदिङ्वा ५ का वडाध्यक्ष अमरबहादुर लिम्बू लगायतका जनप्रतिनिधिले नगद पुरस्कार, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा सिदिङ्वाका विष्णु बस्नेतले सर्बोत्कृष्ट खेलाडी बन्दै पाँच हजार रुपियाँ नगद पुरस्कार र ट्रफी पाउनुभयो ।
अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता लाखेजात्रा पर्वको अवसरमा सिदिङ्वा गाउँपालिका ५ नं. वडा कार्यालयले आयोजना गरेको हो । प्रतियोगिता भञ्ज्याङ माध्यमिक विद्यालय लिम्बुदिनको खेल मैदानमा सञ्चालन गरिएको थियो ।