२० औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइयो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २१ । शुभकामना आदानप्रदान,दलित पत्रकार तथा दलित समुदायबाट उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई सम्मान गर्दै बिहीबार ताप्लेजुङमा २० औं जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाईएको छ ।

आयोजक दलित एकता समाज ताप्लेजुङले दलित पत्रकार तथा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने दलित विद्यार्थीलाई सम्मान गरेको हो । समाजका अध्यक्ष अम्बरबहादुर विश्वकर्माका अनुसार सम्मानित हुने दलित समुदायका सञ्चारकर्र्मीहरुमा सन्तोष पुर्कुटी(रासस),एलिना दियाली(रेडियो काबेली),किरण गदाइली(रेडियो ताप्लेजुङ),बिक्रम लामगादे(रेडियो तमोर)सुनिता रसाइली(रेडियो तमोर) र अनिसा विक(रेडियो काबेली)रहनु भएको छ । यस्तै सञ्चार क्षेत्रमा योगदान दिनु भएका नवीन लामगादे र जीवन कालिकोटे ‘सन्देश’समेत सम्मानित हुनु भएको दलित एकता समाज ताप्लेजुङका अध्यक्ष विकले जानकारी दिनुभयो ।

दलित समुदायबाट एसईई परीक्षामा फुङलिङ नगरपालिकाबाट उत्कृष्ट नतिजा ल्याउने ५ जना दलित विद्यार्थीलाई समेत सम्मान गरिएको छ । फुङलिङ नगरपालिका भित्रका ५ ओटा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको दलित अधिकारकर्मी नेत्र नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार सिद्धकाली मावि दोखुका चन्द्रकला विक,वीरेन्द्र मावि देवलिङ्गेका सपना विक,नवज्योति कञ्चन एकेडेमीका अन्जान परियार,जनता मावि हाङदेवाका करिना नेपाली र भानुजन माविका दिलुसा नेपालीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई,जिल्ला प्रहरी प्रमुख(डिएसपी)उमेश जोशी,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक,बिभिन्न राजनीतिक दलका अगुवा,महिला नेतृहरु,अधिकारकर्मी,नागरिक समाजका अगुवा सहितको उपस्थिति रहेको थियो । सम्मान कार्यक्रमसंगै वक्ताहरुले जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका बिभिन्न आयाम बारे बोल्नु भएको थियो । औपचारिक कार्यक्रममा परिणत हुनुअघि सदरमुकाम फुङलिङमा बाजागाजा सहित नगर परिक्रमा गरिएको थियो ।

 

 

 

 

Similar Posts