मेची राजमार्ग र तमोर करिडोर सहितका सडक तत्काल पुर्ननिर्माण गरिदिन सरकारलाई ताउवासंघको आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १७ । विपद् पश्चात क्षतिग्रस्त राजमार्गको शीघ्र पुर्ननिर्माण गरी प्रभावित नागरिकको जीवनयापन सहज बनाइदिन ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत सरकारको ध्यानार्कषण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँमार्फत ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापन पत्र पेश गरेको हो । अध्यक्ष विकास गौतम र महासचिव कमल लिम्बूद्धारा हस्ताक्षरित ४ बुँदे ज्ञापन पत्रमा प्रधानमन्त्री सुशिला कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गरिएको छ । ज्ञापनपत्र बुझेपछि प्रमुख जिल्ला अधिकारी सेढाईँले ज्ञापनपत्र द्रुत गतिमा सम्वन्धित निकायमा पेश गरिसक्ने बताएको ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भीष्मराज बरालले जानकारी दिनुभयो । ताप्लेजुङ उद्योग वाणिज्य संघले नेपाल सरकार समक्ष पेश गरेको ज्ञापनपत्रमा मेची राजमार्गको रक्से–माईखोला सहितका बिभिन्न क्षेत्रमा मालवाहक ठूला सवारी साधन आवातजावत चुनौतिपूर्ण हुँदा इलामका केहि क्षेत्रसहित पाँचथर र ताप्लेजुङसम्मका नागरिकका लागि आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुको पर्याप्ततामा अभाव हुने परिस्थति औंल्याईएको छ ।

विपद्का कारण जोखिमपूर्ण रहेको मेची राजमार्गका बिभिन्न क्षेत्रको पुर्ननिर्माण तत्काल गरी यात्रुवाहक तथा मालबाहक सवारी साधनहरुको सहज सञ्चालनका लागि सरकारले तत्काल बजेट बिनियोजन गरी पुर्ननिर्माण कार्य पूरा गर्नुपर्ने वाणिज्य संघले सरकारसमक्ष माग गरेको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघले वैकल्पिक मार्गको रुपमा रहेको तमोर करिडोर अन्तरगत हेंवाखोला,नावाखोला र सावाखोला सहितका विभिन्न खोलाहरुमा पक्की पुलको व्यवस्था नहुँदा सवारी तथा यात्रीले खेप्नु परेको समस्याको दृष्टीगत गरी तमोर करिडोर क्षेत्रका खोलाहरुमा तत्काल पुलको प्रवन्ध गर्न र बाँकी रहेको स्तरोन्नती तथा कालोपत्रे सडकको कार्य पूरा गर्न माग गरेको छ ।

ताप्लेजुङबाट तराई जोड्ने अर्को महत्वपूर्ण सडकको रुपमा रहेको मदन भण्डारी राजमार्गको बहानन्दे–दोभान–बसन्तपुर खण्ड तत्काल स्तरोन्नती गर्न,तमोर करिडोर अन्तरगत पाँचथरको आङवुङ र ताप्लेजुङको निघुरादिन जोड्ने लिम्बूनी पुल माथिको अलपत्र पक्की पुल तत्काल पूरा गर्न समेत वाणिज्य संघले सरकारको ध्यानार्कषण गरेको छ । ताप्लेजुङ उद्योग वाणिज्य संघले निजी क्षेत्र सरकारसंग सहकार्य गर्न तत्पर रहेको जनाउँदै मेची क्षेत्रको भौगोलिक चुनौति र आर्थिक सम्भावनालाई दृष्टीगत गरी जनजीवन सहज बनाउने र पहाड र तराईबिचको व्यवसायिक स्थिति पुर्नस्थापित गर्ने कार्यमा सरकारबाट सहयोगको अपेक्षा राख्दै आफुहरुले राखेका मागहरुलाई सरकारले गम्भिरतापूर्वक लिएर पूरा गर्नेतर्फ तदारुकता देखाउन सरकारसंग अपेक्षा गरिएको छ ।

Similar Posts