पाथीभरा दर्शनको पिक सिजन सुरु‘दर्शनार्थीको सहजताका लागि सबै किसिमले तयार भइसकेका छौं’हाङवाङ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ८ । ‘पिक सिजन’सुरु भएसंगै पाथीभरा मन्दिरका दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समिति सहितका निकायले पूरा गर्नुपर्ने सबै तयारी तीव्र बनाएका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशन प्रजिन हाङवाङले यातायात व्यवस्थापन देखि दर्शनार्थीलाई सुरक्षित तवरले दर्शन गरी फर्कने सहजताका लागि सरोकारवाला सबै निकाय गम्भिर र सर्तक रहेको जानकारी दिनुभयो । पाथीभरा मन्दिरको काफ्लोपाटीसम्म पुग्ने यातायात मार्ग अहिले धमाधम स्तरोन्नतीको क्रममा रहेकोले पानी परेको समयमा ठाउँठाउँमा भइरहेको हिलाम्मे समस्याको अस्थायी समाधान गर्नेसम्मको काममा आफुहरुको ध्यान गएको हाङवाङले बताउनुभयो । दर्शनार्थीहरुलाई पाथीभरा मन्दिर क्षेत्रका बारेमा जानकारी सहित उनीहरुको यात्रा सहजताका लागि तोक्मेडाँडा,नयाँ बसपार्क,सुकेटार,काफ्लेपाटी,ठूलो फेदी र मन्दिरसम्म नै यात्रु सहयाता कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै दर्शनार्थीलाई हुने स्वास्थ्य समस्यालाई दृष्टीगत गरी माथिल्लो फेदी र पाथीभरा मन्दिरतर्फको पदमार्गका बिभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गर्नेगरी प्रकृया अघि बढाईएको छ ।
यात्रुको चाँप समेतलाई ध्यानमा राखी माथिल्लो फेदीमा मुख्य र त्यसभन्दा उभोंका क्षेत्रका सहायक रुपले स्वास्थ्य सेवा प्रदान गर्ने हेल्थ डेस्क स्थापना गर्ने क्षेत्र विकास समितिको तयारी रहेको छ । यात्रुलाई सुरक्षित रुपले मन्दिरको दर्शन गरी फर्कने व्यवस्थाका लागि पाथीभरा मन्दिर क्षेत्रका रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी कर्मचारीलाई समेत सहयोगका लागि आवह्वान गरी सकिएको कार्यकारी निर्देशक हाङवाङले बताउनुभयो । दर्शनार्थीको चापका आधारमा लाइन लगाई व्यवस्थित रुपले पूजापाठको व्यवस्थापनका लागि मन्दिर क्षेत्रका कर्मचारीलाई तयारी हालतमा राखिएको समेत क्षेत्र विकास समितिले जनाएको छ । दर्शनार्थीको अत्यधिक चापका कारण दर्शनार्थी व्यवस्थापनमा मन्दिर क्षेत्रमा अहिले कार्यरत कर्मचारीले नभ्याए दर्शनार्थीको पिक सिजन अवधिसम्मका लागि स्वयंसेवक थप गर्ने क्षेत्र विकास समितिको योजना रहेको छ ।
पाथीभरा क्षेत्रमा रहेका होटल तथा आवास कक्षमा पुगेर बस्ने दर्शनार्थीलाई सहज रुपले आवाससहितको व्यवस्थाापनका लागि पाथीभरा क्षेत्रका होटल व्यवसायीसंग समेत चरणबद्ध छलफल गरी व्यवस्थापनका बिषयमा सबैलाई सम्बेदनशिल बन्न आग्रह गरिएको समेत हाङवाङले बताउनुभयो । यातायात व्यवसायी सहितका अन्य सरोकारवालासंग समेत छलफल गरी पाथीभरा क्षेत्रमा दर्शनार्थीको सहज यात्राका लागि सबै निकाय तयारी हालतमा रहेको कार्यकारी निर्देशक हाङवाङ बताउँनुहुन्छ । नवरात्रको समय सुरु भएसंगै पाथीभरामा दर्शनार्थीको उपस्थिति बाक्लो हुँदै जान्छ ।