पाथीभरा याङवरकमा कार्य सम्पादन सम्झौता सम्पन्न

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । ताप्लेजुङका स्थानीय तहमा कार्य सम्पादन सम्झौता हुन थालेको छ । पालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतसंग र प्रमुख प्रशासकीय अधिकृतले सम्वन्धित शाखा प्रमुखसंग कार्य सम्पादन सम्झौता गर्नु भएको छ ।
पाथीभरा याङवरक गाउँपालिकाले कार्य सम्पादन सम्झौतालाई यसबर्ष पनि निरन्तरता दिएको हो । कार्य सञ्चालन पद्धति प्रभावकारी,सेवाग्राहीको भावना अनुसारको,जनमुखी,सरल र मितव्ययी बनाउने प्रणसहित पाथीभरा याङवरक गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतसंग २३ बुँदे कार्य सम्पादन सम्झौता गरेको छ । गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र प्रमुख प्रशासकीय अधिकृत संगम पौडेलबिच भएको कार्य सम्पादन सम्झौतामा सभा र कार्यपालिकाले गरेका निर्णय अक्षरस कार्यान्वयन गर्ने,बार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयन,अनुगमन तथा मूल्याङ्कन गर्ने,कोष तथा आर्थिक कारोवारको हिसाव तथा अभिलेख दुरुस्त राख्न लगाउने,लेखा परीक्षण गराउने र बेरुजु फस्र्यौट गर्ने गराउने प्रमुख जिम्मेवारी प्रशासकीय अधिकृतको हुने उल्लेख छ ।
कार्य सम्पादन सम्झौतामा गाउँपालिकाको चल अचल सम्पत्तिको संरक्षण गर्ने,लगत राख्ने तथा अद्यावधिक गर्ने गराउने,कार्यपालिकाको निर्णय प्रमाणित गर्ने,सभा र कार्यपालिकाको निर्णयको अभिलेख सुरक्षित गर्ने,न्यायिक समितिबाट भएको मिलापत्र र निर्णय सम्वन्धी मिसिल संरक्षण गर्ने गराउने,सार्वजनिक खरिद योजना तयार गरी खरिद सम्वन्धी कार्य व्यवस्थित गर्ने,गाउँपालिकाको क्षेत्राधिकार भित्रका बिषयमा आवश्यक कानुन र कार्यविधि बनाउन पहल लिने,न्यूनतम् दररेट निर्धारण गर्ने गराउने र गाउँपालिकाको संघीय र प्रदेश स्तरको आयोजना कार्यान्वयनमा समन्वय र सहजीकरण गर्ने कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।
प्रत्येक बर्षको बैशाख १५ गते भित्र बिषयगत महाशाखा,शाखा तथा वडा समितिलाई आगामी आर्थिक बर्षको बजेटको सीमा उपलब्ध गराउने,आफुलाई अख्तियारी प्राप्त भएको १५ दिन भित्र बिषयगत शाखा र वडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानुन बमोजिम खर्च गर्ने अख्तियारी दिने,गाउँपालिकाको कोषबाट खर्च भएको रकमको चौमासिक प्रगति त्यस्तो अवधि समाप्त भएको १५ दिन भित्र गाउँपालिकाको बैठकमा पेश गर्ने र कार्यालयको व्यवस्थापन,दैनिक कार्य सञ्चालन तथा कार्यरत कर्मचारीको सुपरीवेक्षण तथा नियन्त्रण र नियमन गर्ने,आवश्यकता अनुसार काजमा खटाउने तथा सरुवा गर्ने,उत्कृष्ट कर्मचारीलाई पुरस्कारका लागि सिफारिस गर्ने र कर्मचारीको ग्रेड थप सहितका कार्यलाई प्रभावकारी बनाउने कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएको छ ।
कार्य सम्पादन सम्झौतामा घुम्ति सेवा सञ्चालन गर्ने,सेवा बितरण प्रकृयाको प्रभावकारिता मापन र सेवा बितरणमा सेवाग्राहीको सल्लाहका लागि समय समयमा सार्वजनिक सुनुवाई गर्ने,शाखा प्रमुखहरुसंग प्रमुख प्रशासकीय अधिकृतले कार्य सम्पादन सम्झौता गर्ने,बेरुजुको लगत राख्ने साथै बेरुजु फस्र्यौट गर्ने गराउने,लिलाम बिक्री गर्ने गराउने,राजश्व संकलन र दाखिला गर्ने,गाउँपालिका तथा वडापालिकाहरुबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त एवम् सेवाग्राही मैत्री बनाउने र प्रचलित कानुन बमोजिम हुने अन्य कार्यहरु प्रभावकारी ढंगले गर्नेगरी सम्झौता भएको छ ।
कार्य सम्पादन सम्झौता अनुसारको प्रगति गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतसंग र प्रमुख प्रशासकीय अधिकृतले बिषयगत शाखाका प्रमुखसंग नियमित रुपमा लिने पनि सहमति बनेको पालिका अध्यक्ष मेन्याङ्वोले जानकारी दिनुभयो । पालिका उपाध्यक्ष रनमाया गुरुङको उपस्थितिमा पालिका अध्यक्ष मेन्याङ्वोसंग कार्य सम्पादन सम्झौता गर्नु भएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बिषयगत शाखाका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौता गर्नु भएको छ । बिषयगत शाखाबाट प्रवाह हुने सेवालाई सहज,सरल,पारदर्शी,जनमैत्री,मितव्ययी बनाउने जस्ता बिषयमा केन्द्रित गरेर प्रमुख प्रशासकीय अधिकृत र बिषयगत शाखाका प्रमुखबिच कार्य सम्पादन सम्झौता भएको छ ।