वडाध्यक्ष सेन्दाङमाथि आक्रमण गर्नेलाई कानुनी दाहेरामा ल्याउन माग,गुण्डागर्दी सैह्य नहुने एमाले ताप्लेजुङको चेतावनी

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ८ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई,एमाले ताप्लेजुङ,मातहतका पालिका कमिटी र जनवर्गीय संगठनले घाइते वडाध्यक्ष टेकिन्द्र सेन्दाङ माथि आक्रमण गर्नेलाई कानुनी दाहेरामा ल्याउन माग गरेका छन् ।

प्रतिनिधिसभा सदस्य भट्टराईले गृहमन्त्री रमेश लेखकलाई पत्र लेख्दै आक्रमणमा संलग्नलाई तत्काल गिरफ्तार गरी कानुनी कारवाही गर्न माग गर्नु भएको छ । उहाँले आम सर्वसाधारणको शान्ति सुरक्षा माथि खलल पार्ने अराजक गतिविधि नियन्त्रण गर्न गृहमन्त्री र गृह प्रशासनको ध्यानाकर्षण गरेका छन् । उनले घाइते सेन्दाङको उपचारको प्रवन्ध मिलाउन समेत माग गर्नु भएको छ । सांसद भट्टराईले नेपाल प्रहरीका महानिरीक्षक र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी दुबैलाई बोधार्थ दिनु भएको छ।

यता नेकपा एमाले ताप्लेजुङले आइतवार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमाले ताप्लेजुङका सदस्य तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष सेन्दाङ माथिको सांघातिक आक्रमणलाई अपराधिक गतिविधिको संज्ञा दिएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वो र केन्द्रीय कमिटी सदस्य टंक आङवुहाङ सहित प्रदेश कमिटीका नेताहरु समेत उपस्थित कार्यक्रममा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूले विज्ञप्ति जारी गर्दै उक्त आक्रमणमा संलग्नलाई प्रशासनले कारवाही नगरे शान्ति सुव्यवस्था कायम गर्न र गुण्डागर्दी र आतंकित अवस्था नियन्त्रण गर्न प्रतिकारमा उत्रने चेतावनी समेत दिनु भएको छ ।

पोमूद्धारा जारी विज्ञप्तिमा व्यक्ति माथि सुनुयोजित रुपमा आक्रमण गर्ने अपराधिक र अराजक गतिविधिले नागरिकहरुले स्वतन्त्रतापूर्वक हिड्न पाउने संबैधानिक तथा कानुनी अधिकार हनन् भएको उल्लेख गर्दै ज्यान मार्ने उद्देश्यसहित सेन्दाङ माथि भएको आक्रमण बिरुद्ध प्रतिकार गर्नसम्म पछि नपर्ने दावी गरिएको छ । यस्तै नेकपा एमाले ताप्लेजुङ अन्तरगत फुङलिङ नगर कमिटी,फक्ताङलुङ गाउँपालिका कमिटी,पाथीभरा याङवरक गाउँपालिका कमिटी,आठराई त्रिबेणी गाउँपालिका कमिटी,मिक्वाखोला गाउँपालिका कमिटी,मैवाखोला गाउँपालिका कमिटी,मेरिङदेन गाउँपालिका कमिटी,सिरिजङ्गा गाउँपालिका कमिटी र सिदिङ्वा गाउँपालिका कमिटीले समेत सेन्दाङ माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कानुनी कारवाहीको माग गरेका छन् ।

जिल्ला अध्यक्ष रनमाया गुरुङद्धारा जारी अखिल नेपाल महिला संघ,अध्यक्ष विवेक बाँनियाद्धारा जारी अनेरास्ववियु,अध्यक्ष मानिक तुम्बाहाम्फेद्धारा जारी राष्ट्रिय युवा संघ नेपाल सहितका जनवर्गीय संगठनहरुले समेत सेन्दाङ माथि भएको सांघातिक आक्रमणप्रति खेद व्यक्त गर्दै अराजक गतिविधिका बिरुद्ध आफुहरु जस्तोसुकै कदम उठाउन पनि तयार रहेको दावी गरिएको छ । जिल्ला कमिटीको बैठक सकेर घर फर्कनै लाग्दा तोक्मेडाँडा क्षेत्रमा सुनयोजित तरिकाले एमाले जिल्ला सदस्य तथा आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीका वडाध्यक्ष सेन्दाङ र एमाले जिल्ला सदस्य मनकुमार तेङबुङमाथि ५–७ जनाको समूहले सांघातिक आक्रमण गरेको एमाले ताप्लेजुङको दावी छ । उक्त घटनामा परी सेन्दाङ गम्भिर घाइते भएको र ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार हुन नसकी झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको एमाले ताप्लेजुङले जनाएको छ ।

Similar Posts