ताप्लेजुङ गोल्डकपः फिदिममाथि सलहेसको गोल वर्षा

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २७ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै विजयी भएको छ । मंगलबार भएको खेलमा ६–० को फराकिलो गोलअन्तरले फिदिमलाई पराजित गर्दै सलहेसले जित निकालेको हो ।
फिदिमको फितलो खेल प्रदर्शनको फाइदा उठाउँदै सलहेशले फराकिलो गोलअन्तरले जित निकाल्न सफल भएको हो । सलहेस विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्तिम टोली बनेको छ । यस्तै मंगलबारको खेलमा सलहेसका विदेशी मुलका खेलाडी युसुफ मलिक सर्बश्रेष्ठ खेलाडी घोषित हुँदै सात हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
यसअघि भारत, सिलिगुढीको लिजेन्ट फुटबल एकेडेमीलाई पराजित गर्दै चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनल पुगेको छ । यस्तै आयोजक टोली तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै द योङ ब्रदर्स क्लब इटहरी र साहारा क्लब पोखरालाई पराजित गर्दै रेड स्टार फुटबल क्लब झापा सेमिफाइनल प्रवेश गरेका छन् । अब चर्च ब्वाइज क्लब र द योङ ब्रदर्स क्लबबिच बुधबार पहिलो सेमिफाइनल खेल हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।
प्रतियोगिताको दोस्रो खेल रेड स्टार फुटबल क्लब र सलहेस युवा क्लबबिच बिहीबार हुने छ । यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ ।
प्रतियोगितामा सबोत्कृष्ट छनोट हुने खेलाडीले यसवर्ष १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । लाखेजात्राको अवसरमा साउन २४ गते शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल साउन ३१ गते हुने छ ।