| |

ताप्लेजुङ गोल्डकपः चर्च ब्वाइजसँग हार खाँदै भारतको सिलगुढी बाहिरियो

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २६ । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब ललितपुरसँग पराजित हुँदै भारत, सिलिगुढीको लिजेन्ट फुटबल एकेडेमी बाहिरिएको छ । सोमबार भएको खेलमा चर्च ब्वाइजसँग १–० गोलले हार खाँदै लिजेन्ट फुटबल एकेडेमी प्रतियोगिताबाट बाहिरिएको हो ।
चर्च ब्वाइजको जितका लागि खेल सुरु भएको १० औं मिनेटमा मनिषकुमार जर्घा मगरले गोल गर्नुभएको थियो । मनिषको गोलपछि लिजेन्ट फुटबल एकेडेमीका खेलाडीले पनि गोल फर्काउने निकै प्रयास गरेका थिए । मध्यान्तर हुनै लाग्दा प्रितम बैदी रातो कार्ड पाएर खेलबाट बाहिरिएपछि १० जना खेलाडीमा सीमित भएको लिजेन्ट फुटबल एकेडेमीका लागि गोल फर्काउनलाई थप चुनौती थपियो ।
चुनातीपूर्ण भए पनि प्रतिस्पर्धात्मक खेल खेलेको लिजेन्ट फुटबल एकेडेमीले गोल फर्काउन नसके पनि चर्च ब्वाइजलाई थप गोल गर्नबाट रोक्न सफल भयो । चर्च ब्वाइजको जितका लागि भने मनिषले गरेको गोल नै पर्याप्त बन्यो । सोमबारको खेलमा चर्च ब्वाइजका गोल रक्षक विश्वास चौधरीले सर्बश्रेष्ठ खेलाडी घोषित हुँदै सात हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
यता क्वार्टर फाइनलको अन्तिम खेल मङ्गलबार गतवर्षको उपविजेतासमेत रहेको सलहेस युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबिच हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । प्रतियोगिताको तेस्रो दिनसम्म तीन खेल सम्पन्न भइसक्दा चर्च ब्वाइजसहित द योङ ब्रदर्स क्लब इटहरी र रेड स्टार फुटबल क्लब झापाल सेमिफाइनलको यात्रा तय गरेका छन् ।
यसवर्ष प्रतियोगिताको उपाधि विजेताले सात लाख दुई हजार ८२ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ । प्रतियोगितामा सबोत्कृष्ट छनोट हुने खेलाडीले यसवर्ष १५० सिसिको यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । लाखे जात्राको अवसरमा खेलाइएको प्रतियोगिताको फाइनल साउन ३१ गते शनिबार हुने छ ।

Similar Posts