वातावरण संरक्षणको ज्ञान थप बलियो बनाउन ताप्लेजुङका ७ वटा बिद्यालयमा वातावरण संरक्षण शिक्षा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २२ । हिमाली संरक्षण मञ्चमार्फत ताप्लेजुङका ७ वटा बिद्यालयमा स्थानीय पाठ्यक्रम अन्तरगत वातावरण संरक्षण शिक्षा पढाई हुने गरेको छ ।
हिमाली संरक्षण मञ्चको कार्यक्षेत्र भित्रका बिद्यालयहरुका कक्षा ६ र ७ मा वातावरण संरक्षण शिक्षा पढाई हुने गरेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ६ मा १ सय ४९ र कक्षा ७ मा २ सय ६६ गरी ४ सय १५ जना बिद्यार्थी वातावरण संरक्षण शिक्षा पाठ्यक्रम पढाइन्छ । राईका अनुसार फुङलिङस्थित मयाम मावि फुरुम्बु,पाथीभरा याङवरक गाउँपालिकास्थित सिद्धकुमारी आधारभूत बिद्यालय तिरिङ्गे,सिरिजङ्गा गाउँपालिकास्थित लक्ष्मी मावि मामाङ्खे र कञ्चनजंघा मावि याम्फुदिन तथा फक्ताङलुङस्थित सिँवा मावि लिङखिम,महेन्द्र मावि लिङखिम र सरस्वती च्यारिबुक मावि लेलेपमा वातावरण संरक्षण शिक्षा पाठ्यक्रम पढाई हुने गर्छ ।
वातावरण संरक्षण शिक्षा पाठ्यक्रममा रेडपाण्डाबारे आधारभूत जानकारी देखि यसको संरक्षण,वातावरण संरक्षणमा स्थानीय समुदायको भूमिका र वातावरण संरक्षणको अपरिहार्यता समेतका बिषयबस्तु केन्द्रित गरिएका छन् । बालबालिकामार्फत अभिभावक र अभिभावककमार्फत समुदायसम्म संरक्षण शिक्षाका बिषयबस्तु बारे जानकारी प्रवाह गर्न आधारभूत तहको कक्षाबाटै वातावरण संरक्षण शिक्षा पाठ्यक्रम सुरु गरिएको हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि केदेम लिम्बू बताउँनुहुन्छ । हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेवटर्कसंग मिलेर विगत लामो समय देखि रेडपाण्डा संरक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
वातावरण संरक्षण शिक्षाको जग थप बलियो बनाउन ताप्लेजुङका ११ वटा बिद्यालयहरुमा ११ वटा इको क्लव समेत गठन गरिएको छ । इको क्लवहरुमार्फत रेडपाण्डा बाल बुलेटिन समेत प्रकाशित गर्ने गरिएको छ । यस्तो अभियानको अगुवाई स्थानीय इको क्लव संरक्षक शिक्षकले गर्दै आएका छन् । प्रकाशित भएका रेडपाण्डा बाल बुलेटिनलाई बिद्यालयको सार्वजनिक सूचना पार्टीमा टाँस गर्ने तथा बिद्यालयका बिद्यार्थीहरुलाई जीवन उपयोगी सिकाईका क्रममा केन्द्रित गर्ने समेत गरिएको राईले जानकारी दिनुभयो ।