फुङलिङको नयाँ बसपार्क दोस्रो पटक सञ्चालनको घोषणा,सडकमार्गमा सवारी पार्किङ गर्न रोक लगाइने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १५ । करिव १० करोड रुपैयाँको लगानीमा फुङलिङ नगरपालिकामा वडा नं ४ मा निर्मित नयाँ बसपार्क बिहीबारबाट दोस्रोपटक सञ्चालनमा लगिएको घोषणा गरिएको छ ।
नगरप्रमुख अमिर मादेनले अब नयाँ बसपार्क क्षेत्रनै फुङलिङको प्रमुख र एकमात्र सवारी पार्क गन्तव्य हुने दावी सहित नयाँ बसपार्क सञ्चालनमा आएको घोषणा गर्नुभयो । उहाँले नयाँ बसपार्क क्षेत्रमा पुगेका सवारी चालकलाई खादासहित स्वागत समेत गर्नु भएको छ । नगरप्रमुख मादेनले बसपार्क क्षेत्रमा आवश्यक पर्ने धेरै संरचना तथा पूर्वाधारको निर्माण कार्य पूरा भएको र बाँकीलाई तत्काल पूरा गर्ने बताउनुभयो । अहिले केहि टिकट काउन्टर बनेको र अब एकदर्जन बढी काउन्टर निर्माण गरी यातायात व्यवसायीलाई सहज बनाइने उहाँले बताउनुभयो । सिसी क्यामेरा,बिद्युत चार्जिङ स्टेशन सहितका पूर्वाधार निर्माण कार्य पूरा भएको नगरप्रमुख मादेनको भनाई छ । उहाँले बसपार्क हातामा चमेना गृहसहितका पूर्वाधार निर्माणका लागि नगरपालिकाले गृहकार्य सुरु गरिसकेको बताउनुभयो । नयाँ बसपार्क क्षेत्रमा सुरक्षा चेकपोष्ट सहितको व्यवस्थापन गर्ने कार्य अघि बढीसकेको उहाँले जानकारी दिनुभयो ।
नयाँ बसपार्क क्षेत्रमा पर्याप्त मात्रामा काउन्टर नबिनञ्जेल सम्मका लागि अहिले कायम रहेका काउन्टरमार्फत नै यात्रु उठाउने तथा ओलार्ने प्रयोजन बाहेक अब सबै सवारीको पार्किङ नयाँ बसपार्कमा हुने नगरप्रमुख मादेनले बताउनुभयो । त्यसका लागि जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालयसंग समन्वय भइसकेको मादेनको भनाई छ । अरु थप व्यवस्थापनका लागि नगर प्रहरी समेत परिचालन गर्ने मादेनको भनाई छ । नगरप्रमुख मादेनले नयाँ बसर्पाक क्षेत्रमा रहेका सिसी क्यामेराको निगारानी तथा ट्राफिक प्रहरी समेतको सहयोगमा नयाँ बसपार्क क्षेत्रमा पार्किङ गरिएका तथा प्रस्थान र आगमन हुने सवारीले पालना गरेको सवारी नियमका आधारमा सवारी चालकलाई नगरपालिकाले पुरस्कृत गर्ने घोषणा समेत गर्नुभयो ।
मादेनका अनुसार सवारी नियम पालना गर्ने सर्बोत्कृष्टलाई १० हजार,दोस्रो हुनेलाई ७ हजार,तेस्रो हुनेलाई ५ हजार र सान्त्वना हुनेलाई नगद ३ हजार पुरस्कार प्रदान गरिने छ । यसबाहेक नयाँ बसपार्क क्षेत्रमा सवारी पार्किङ गर्ने सवारी चालकलाई नगरपालिकाको पहिचान स्वरुप प्रत्येक दुईबर्षमा सवारी चालक पोशाक दिने समेत नगरप्रमुख मादेनले बताउनुभयो । यसअघि गत २०८१ साल भदौ २० गते समेत उक्त नयाँ बसपार्क सञ्चालन भएको घोषणा गरिएको थियो । तर अपेक्षा अनुसार नयाँ बसपार्क सञ्चालन कार्यान्वयनमा भने आउन सकेन । यसपटक नगरपालिकाले साविक जस्तो सडकमा पार्किङ गर्ने परम्परालाई रोक्न स्थानीय प्रशासन र नगर प्रहरी समेत परिचालन गर्ने नीति लिएको जनाएको छ ।