ढङ्ढङगे झरनाको प्रवर्द्धन र विकास गरिँदै

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङ्ढङगे झरनाको प्रवर्द्धन र विकास गर्न स्थानीय जुट्न थालेका छन् । पर्यटनको अधिक सम्भावना बोकेको ढङ्ढङगे झरनाको प्रवर्द्धन र विकास गर्न पछिल्लो समय स्थानीय जुट्न थालेका हुन् ।
ढङ्ढङगे झरना सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नम्बर ६ मेहेलेको सिमानामा रहेको छ । स्थानीय सरकारको हैसियतमा रहेको सिदिङ्वा गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेको भरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रवर्द्धनात्मक कार्य गर्न थालेको छ । ढङ्ढङगे झरनास्थल पुग्ने मोटरबाटो, पदमार्ग, होमस्टे (घर बास) व्यवस्थासहितका क्रियाकलाप गाउँपालिकाले गर्न सुरु गरेको छ ।
यस्तै आगामी आर्थिक वर्षमा झरनाको थप प्रवर्द्धन र प्रचारप्रसारसहित पर्यटकीय गन्तव्यमा विकास गर्ने उद्देश्यले ढङ्ढङगे झरना महोत्सव गर्ने योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर राईका अनुसार गाउँ अभिवेशनमार्फत नै ढङ्ढङगे झरना महोत्सव गर्ने योजना पारित गरिएको छ । पर्याप्त प्रचारप्रसार नभएकोभन्दै गाउँपालिकाले महोत्सव गर्न लागेको बताइएको छ ।
यस्तै गाउँपालिकासँगै विभिन्न संघ संस्थाले पनि ढङ्ढङगे झरनाको प्रवर्द्धनका निम्ति गतिविधि गर्दै आएका छन् । राजनीतिक दल, सामाजिक संघ संस्था लगायतले ढङ्ढङगे झरनाको प्रवर्द्धन र प्रचारप्रसारमा टेवा पु¥याउनेगरी पदमार्ग सरसफाई, वृक्षारोपण लगायतका गतिविधि गरिरहेका छन् । आइतबार मात्र नेकपा (माओवादी केन्द्र) सिदिङ्वा गाउँपालिका कमिटीको अगुवाइमा ढङ्ढङगे क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
ढङ्ढङगे झरनाको प्रवर्द्धन र विकासमा टेवा पु¥याउने उद्देश्य राखेर माओवादी पालिका कमिटीको श्रमदान अभियानमार्फत ढङ्ढङगे झरना क्षेत्रमा वृक्षारोपण गरिएको हो । माओवादीका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री, वैकल्पिक केन्द्रीय सदस्य विजयप्रकाश वनेम, जिल्ला संयोजक विष्णुकुमार लिम्बूलगायत विभिन्न तहका नेतृत्व सहितको सहभागितामा वृक्षारोपण गरिएको छ । पालिका कमिटी सचिव किरण लिङ्देनका अनुसार धुपी सल्ला, तेजपत्तालगायत विभिन्न प्रजातिका ३०० वटा बिरुवा रोपिएको छ ।
यता ढङ्ढङगे झरनाको प्रवर्द्धनात्मक र प्रचारात्मक गतिविधि हुन थालेपछि पछिल्लो समय झरना क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको छ । ताप्लेजुङ, पाँचथरसहितका जिल्लाबाट आन्तरिक पर्यटकहरु ढङ्ढङगे झरनाको भ्रमण गर्न पुग्ने गरेका छन् । करिव २०० मिटर बढी उचाइ रहेको ढङ्ढङगे झरना निकै नै आकर्षक भएकाले झरनाको अवलोकन रर भ्रमण गर्न पर्यटकहरु लोभिने गरेका लिम्बुदिनका वडाध्यक्ष अमर लिम्बू बताउनुहुन्छ ।