| |

एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान साथै बधाई ज्ञापन

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २३ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङक देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ । यसवर्ष अर्थात २०८१ को एसइईमा जिल्लाकै सर्बोकृष्ट नतिजा ल्याउन सफल भएको गोन्पा विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको हो ।
आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसइई उत्तीर्ण विद्यार्थीलाई कदरपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भई ३.९१ जिपिएसहित जिल्लाकै उत्कृष्ट बन्न सफल लाके शेर्पा, ३.८६ जिपिए प्राप्त गरेर जिल्लाकै दोस्रो बन्न सफल प्रितम गुरुङ सहितका सबै विद्यार्थीलाई सम्मान गरिएको छ ।
एसइई उत्तीर्ण विद्यार्थीसँगै विद्यालयका सम्पूर्ण शिक्षकलाई समेत कदरपत्रद्वारा सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । आयोजित कार्यक्रमकाबिच एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले सम्मान गर्नुभएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, हाङ्देवाका वडा अध्यक्ष लक्षमण गुरुङ, स्थानीय अभिभावक लगायतको उपस्थिति रहेको थियो । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङस्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालय पहिलो पटक विद्यालय शिक्षा परीक्षा (एसइई) मा सहभागी भएको हो ।
सो विद्यालयबाट एसइईमा सहभागी शत् प्रतिशत अर्थात ११ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । यसै विद्यालयका लाके शेर्पा र प्रितम गुरुङ जिल्लाकै सर्बोत्कृष्ट प्रथम र दोस्रो नतिजा ल्याउने विद्यार्थी बनेका छन् । विद्यालय र सिर्जनशील बाल क्लबको संयक्त आयोजित कार्यक्रमकाबिच एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान साथै बधाई ज्ञापन गरिएको पनि प्रधानाध्यापक शेर्पाले जानकारी दिनुभयो ।

Similar Posts