| |

पर्यटक पर्खँदै ‘ताक्वाचङ याःराक्मा तेन’ पार्क

-प्रयास लिम्बू
ताप्लेजुङ, जेठ २३ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा रहेको जिल्ला हो ताप्लेजुङ । कञ्चनजंघा हिम शृङ्खलासँगै फुङफुङगे झरना, सिँजेमा ताल, तिम्बुङ पोखरीलगायत थुप्रै पर्यटकीयस्थल तथा विशेष संस्कार संस्कृतिका कारण ताप्लेजुङ एक पर्यटकीय भूमिका रुपमा पनि परिचित रहेको छ ।
कञ्चनजंघा सहितका पर्यटकीय गन्तव्य साथै यहाँको बहुसंस्कृति र संस्कारले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । थुप्रै पर्यटकीय स्थलहरुबिच संस्कार, संस्कृति र पहिचानको उजागर गर्दै पर्यटकीय गन्तव्यकै रुपमा विकास गर्नेगरी धान नाच स्तम्भ (ताक्वाचङ याःराक्मा तेन) पार्क स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङ बजारको हटिया लाइनमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच स्तम्भ पार्क स्थापना गरिएको हो ।
मौलिक संस्कृति झल्कने धान नाच स्तम्भ तथा प्रतिमासहितको पार्क निर्माणले संस्कृतिको उजागर र संरक्षण गर्नमा टेवा पुगेका छ । धान नाच पार्कले पर्यटकलाई आकर्षित गराएको छ भने विस्तारै पर्यटकको उपस्थिति पनि बाक्लिँदै गएको छ । लिम्बू संस्कतिमा आधारित दुई पुरुष र दुई जना महिलाले एकापस हात समाएर धान नाच प्रस्तुत गर्दै गरिहेको प्रतिमाले पर्यटकलाई आकर्षित गरेको छ ।
यस्तै पृष्ठभूमिमा कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुमलुङ) धामको प्रतिमा झल्किने आकृति चित्र निर्माण गरिएको छ । साथै संस्कार संस्कृतिकै पहिचान झल्काउनेगरी राई, लिम्बू, तामाङ, मगर, सुनुवारलगायत जनजाति समुदायको भेषभूषा र पहिरन लगाएका नागरिकको कलात्मक चित्रले पर्यटकलाई थप आकर्षित गराएको छ । लिम्बू समुदायकै सांस्कृतिक नृत्य च्याब्रुङ नाच (केःलाङ) को कलात्मक चित्र पनि पार्कमा निर्माण गरिएको छ ।
लिम्बू जातिको संस्कृतिमा आधारित धान नाच (याःलाङ) र च्याब्रुङ नाच (केःलाङ) वैवाहिक लगायतका शुभकार्य, मेला, महोत्सवजस्ता कार्यक्रम र अवसरमा प्रस्तुत गर्ने गरिन्छ । यवायुवतीसँगै सबै उमेर समूहकाले एक अर्काको हात समाएर पालाम गाउँदै धान नाच्ने गरिन्छ । त्यस्तै च्याब्रुङ एक प्रकारको बाजा र झ्याम्टा बचाउँदै मौलिक पोशाक लगाएर च्याब्रुङ नाच प्रस्तुत गरिन्छ । यिनै मौलिक संस्कार संस्कृतिमा आधारित स्तम्भ र कलात्मक चित्र रहेकाले पार्कप्रति पर्यटकको आकर्षण बढ्दै गएको हो ।
आदिवासी जनजाति समुदायको संस्कार संस्कृति झल्किने कलात्मक प्रतिमा र चित्रले सबै समुदायका नागरिक तथा पर्यटकलाई आकर्षित गराएको छ । धान नाच पार्कमा रहेको आदिवासी जनजाति विशेष प्रतिमा तथा चित्र अवलोकनका साथै अध्ययन र अनुसन्धानका लागि स्रोत भएकाले पनि पर्यटक तथा आगन्तुकका लागि एक महत्वपूर्ण केन्द्र बनेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । यस पार्कमा रहेको प्रतिमा, आकृति तथा चित्रले छुट्टा–छुट्टै समुदायमा आधारित संस्कार संस्कृतिबारे बुझ्ने र जानकारी लिने अवसरका रुपमा लिन सकिने पर्यटन व्यवसायी हर्कराज गुरुङको भनाइ छ ।
यस्तै कलात्मक प्रतिमा र आकृति चित्रसहितको पार्क स्थापनाले मौलिक संस्कार संस्कृतिको संरक्षणमा टेवा पुग्नुकासाथै सम्बन्धित समुदायका नयाँ पुस्ताका लागि अनुशरण गर्न र मौलिक संस्कृतिबारे जानकारी राख्ने थलो (स्थल) बनेको स्थानीय अगुवा कीर्तिमान मादेनले बताउनुभयो । आधुनिकतासँगै नयाँ पुस्ताले आफ्नो मौलिक पहिचान, संस्कार र संस्कृति बिर्सिँदै गएको अवस्थामा पार्कले संस्कृति उजागर गर्नमासमेत सहयोग पुग्ने मादेनको भनाइ छ ।
सदरमुकाम बजारसँगै धान नाच पार्क रहेकाले ताप्लेजुङ भित्रिने जो कोही पाहुना तथा आगन्तुकले भ्रमण गर्ने गरेका छन् । यद्यपि, प्रयाप्त पर्यटकको उपस्थिति हुन सकेको छैन । हालसम्म आवश्यक प्रचारप्रसार र पर्यटकको पर्खाइमै धान नाच पार्क रहेको छ । उक्त पार्क भने लिम्बू समुदायको जातीय संस्था किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाको आर्थिक सहयोगमा ताप्लेजुङ शाखाले निर्माण गरेको हो ।

Similar Posts