सिरिजङ्गा महोत्सव: चौंरी प्रतियोगितामा ‘मिक्टा’लाई उपाधि

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १७ । १७ प्रतिश्पर्धीलाई पछि पार्दै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका चौंरीपालक राजेश गुरुङको ‘मिक्टा’चौंरीले सिरीजङ्घा गाउँपालिकामा भएको चौँरी प्रतियोगिताको उपाधि जितेको छ ।

महोत्सवमा प्रतिश्पर्धाका लागि ल्याईएका चौंरीमध्ये ‘मिक्टा’लाई उत्कृष्ट घोषित गर्दै निर्णायकले चौंरीपालक गुरुङलाई नगद २८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गर्न आयोजकलाई सिफारिस गरेका थिए । निर्णायकले दिएको मूल्याङ्कनका आधारमा पुरस्कार प्रदान गरिएको महोत्सव आयोजक सिरिजङ्गा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले जानकारी दिनुभयो । प्रतियोगितामा दावा शेर्पाले पालेको ‘पागे’,द्धितीय र मिलन अधिकारीको ‘ग्याङसा’चौँरी तृतीय भए । शेर्पा र अधिकारीलाई समान ८ हजार ५ सय ८६ रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको उपाध्यक्ष मावोले बताउनुभयो ।

चौँरीको शरिरको मोटाइ,सिङ,पुच्छर र उसको आनीबानीलगायलाई आधार मानी उत्कृष्ट चौँरी छनोट गरिएको गाउँपालिकाले बताएको छ । चौंरी पालन पेशाप्रतिको घट्दो आर्कषणमा सुधार तथा चौंरी पालक व्यवसायको आत्मसम्मान र प्रोत्साहनका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको समन्वयमा महोत्सवको अवसर पारेर आयोजक सिरिजङ्गा गाउँपालिकाले याक तथा चौंरी प्रवद्र्धन कार्यक्रम आयोजना गरेको थियो ।

Similar Posts