शिक्षकको आन्दोलनलाई सम्मान गर्दै मैवाखोलाद्धारा चैत २७ का लागि निर्धारित बृहत्त सिकाई मेला स्थगन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत २६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शिक्षकहरुको जारी आन्दोलनलाई मध्यनजर गर्दै चैत २७ गते बुधवार पालिकामा आयोजना गर्ने भनिएको कार्यमुलक सीपमा आधारित बृहत्त सिकाई मेला स्थगन गरेको छ ।
पालिकाले आन्दोलनरत शिक्षक तथा कर्मचारीको भावनालाई सम्मान गर्दै पूर्व निर्धारित कार्यमुलक सीपमा आधारित बृहत्त सिकाई मेला स्थगन गर्नुपरेको विज्ञप्तिमार्फत जनाएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले मंगलवार अपरान्ह एक विज्ञप्ति जारी गर्दै‘शिक्षकको आन्दोलनलाई सफलताको शुभकामना’भन्नु भएको छ । उहाँले सार्वजनिक शिक्षा सुधार गर्ने प्रयत्न र कर्तव्यबाट किञ्चित पछि नहट्ने अठोट समेत व्यक्त गर्नु भएको छ । सार्वजनिक शिक्षा सुधारको अभियान सञ्चालन गरिरहेको मैवाखोलाले सोहि कार्यक्रम अन्तरगत बुधवारका लागि कार्यमुलक सीपमा आधारित बृहत्त सिकाई मेलाको आयोजना गरेको थियो ।
पालिका अध्यक्ष वनेमद्धारा जारी विज्ञप्तिमा चैत २० गते देखि जारी शिक्षक आन्दोलनका कारण देशभरका शैक्षिक गतिविधिहरु प्रभावित भएको उल्लेख गरिएको छ । मैवाखोलाले संघीय सरकारले शिक्षक तथा कर्मचारीका जाजय मागहरु चाँडो सम्बोधन गरी शिक्षकहरुलाई बिद्यालयमा फर्कने वातावरण बनाउन अग्रसरता लिनुपर्ने बताएको छ । पालिकाले सार्वजनिक शिक्षा सुधारका लागि आफुहरुले चालेको कदमको औचित्य पुष्टी गर्दै देशको सार्वजनिक शिक्षा र सार्वजनिक बिद्यालय ध्वस्त भइरहेको कहाली लाग्दो अवस्थालाई सुधार गर्न अभियान चालेको भनेको छ । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय लागि पर्नुपर्ने अवस्थामा आफुहरु यस कार्यमा अग्रसर भएको मैवाखोलाले बताएको छ ।