‘ताप्लेजुङका शहीदहरु’पुस्तक सार्वजनिक

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ५ । महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले बुधवार‘ताप्लेजुङका शहीदहरु’नामक पुस्तक सार्वजनिक गरेको छ ।

१० बर्षे सशस्त्र युद्धका क्रममा मारिएका तथा वेपत्ता भएका र बिभिन्न राजनीतिक द्धन्दका कारण ज्यान गुमाएका सदस्यहरुको पारिवारिक तथा राजनीतिक विवरण,ज्यान गुमाएको स्थान र अवस्था चित्रित गरी पुस्तक प्रकाशन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति अध्यक्ष समेत रहनु भएका प्रतिष्ठानका अध्यक्ष बिष्णुकुमार हाङवाङ(विरु)ले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रतिष्ठानले उक्त पुस्तक प्रकाशन गरेको हो । पुस्तक तीनसयप्रति प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ । हाङवाङले १० बर्षे जनयुद्धका क्रममा ज्यान गुमाएका तथा वेपत्ता भएका सदस्यको विवरण प्रकाशनमा ल्याईसकेको वातावरण तथा संरक्षण तथा विकास मञ्चद्धारा प्रकाशित पुस्तकलाई यो पुस्तक प्रकाशनको सन्दर्भ सामग्रीको रुपमा उपयोग गरिएको समेत जनाउनुभयो ।

पुस्तकमा ‘शहीद’ भनेर १ सय ३७ जना ताप्लेजुङका नागरिक तथा पश्चिम नेपालबाट आई ताप्लेजुङमा बलिदान गर्नुहुने भनेर जगत थापा सहित १ सय ३८ जनाको नामावली उल्लेख छ । यस्तै ‘१० बर्षे द्धन्दका कारण बिद्रोहीद्धारा ज्यान गुमाउने शहीद तथा नागरिकहरु’ भनेर टकहादुर सुब्बा,नारद निरौला,रामकुमार साँवा,मचिन्द्र महतारा,श्रीप्रसाद गौतम,टेकहादुर अन्छङ्वो,मोहन चुडाँल,निधीनारायण भट्टराई सहित ३२ जनाको नाम उल्लेख छ । १० बर्षे द्धन्दका कारण वेपत्ता भएका नागरिक तथा योद्धा भनेर फुङलिङका काशीनाथ गौतम र सिदिङ्वा गाउँपालिका वडा नं ७ सुरुम्खिमका मनकुमारी राई(दिब्या)को नाम उल्लेख छ ।

पुस्तकमा विभिन्न राजनीतिक द्धन्दका कारण ज्यान गुमाएकाहरु भनेर हरि नेपाल,इन्द्र थेबे,रुकमान थेबे र लक्ष्मीप्रसाद पाण्डेको नाम उल्लेख गरिएको छ । पुस्तकमा आफ्नो बिचार व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री(पराग)ले आजसम्म ताप्लेजुङमा शहीद घोषणा भएको संख्या १ सय ५० रहेको र बाँकी अझै घोषणाको क्रममा रहेको उल्लेख गर्नु भएको छ । उहाँले वेपत्ताहरुको टुङ्गो लाग्न अझै बाँकी रहेको समेत पुस्तकमा लेख्नु भएको छ ।

आवरण र शुभकामना मन्तव्य बाहेक पुस्तक ८३ पृष्ठको रहेको छ । बिभिन्न राजनीतिक दलका अगुवाहरुको उपस्थितिमा बुढाक्षेत्रीले पुस्तक सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ,जिल्ला समन्वय समिति प्रमुख तथा नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पा,(माओवादी केन्द्र)का केन्द्रीय सदस्य पर्शुराम कार्की सहितका अगुवाहरुको उपस्थिति रहेको थियो भने उहाँहरुले पुस्तकमाथि टिप्पणी तथा आफ्नो राय समेत राख्नु भएको थियो ।

 

Similar Posts