|

एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जना पक्राउ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ५ । ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १–०२–००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका–३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका–२ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका–३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन् । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइनमा पार्किङ गरी राखेको ठाउँमा बिहीबार राति उक्त समूहले एम्बुलेन्स तोडफोड गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार तोडफोडबाट एम्बुलेन्सको झ्यालको सिसा फुटेको छ भने अन्य भागमासमेत सामान्य क्षति पुगेको छ । सो समूहले एम्बुलेन्सका चालक विनोद लिम्बूलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेका थिए ।
एम्बुलेन्स तोडफोड र चालकलाई अभद्र व्यवहार गरी फरार भएका तीनै जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जनामाथि शुक्रबार नै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
यता फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जिल्ला प्रहरी कार्यालयसमक्ष एम्बुलेन्स तोडफोडमा संलग्न वा दोषीलाई छानबीन गरी हदैसम्मको कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts