फेरि चुके पेप ग्वार्डिओला

अरुलाई पनि शेयर गरौ !

लिस्बन,भदौ १ । फेरि असफल । जस्तै कारण भए पनि फेरि एकपल्ट असफलता । असफलता पनि कस्तो भने पुरानै जस्तो । पेप ग्वार्डिओला म्यानचेस्टर सिटीका लागि कतिपल्ट युरोपेली च्याम्पियन्स लिग फुटबलमा असफल हुनेछन् त ? नकआउट चरणमा सिटीको खराब प्रदर्शन लामै समयदेखि चलिरहेको छ र ग्वार्डिओला जत्तिको प्रशिक्षकबाट यस्तो अपेक्षा त गर्न सकिन्न । नकआउट चरणमा पुगेपछि ग्वार्डिओलाका रणनीति कहाँनिर गएर चुक्छ, प्रश्न ठूलो भएको छ । अझ भन्न सकिन्छ, ग्वार्डिओलाले लियोनविरुद्ध जस्तो रणनीति अपनाए । त्यसले त पूरा सिटीकै खेलाडी रनभुल्लमा परे जस्तो देखिन्छ । लियोनसँग सिटीले जसरी खेल्यो, त्यो गैरसिटीको खेलजस्तो थियो । सिटी एकपछि अर्को पास खेल्न माहिर मानिन्छ, लियोनसँग यो शैली पनि गुपचुप पो देखियो । त्यसैले त सिटीले तीन खेलाडीको मद्दतले लियोनले खडा गरेको डिफेन्स तोड्न सकेनभन्दा हुन्छ । लियोन त्यही क्लब हो, जुन घरेलु फ्रान्सेली लिगको सातौं स्थानमा थियो । सिटीको प्रदर्शन सुरुदेखि नै अन्योलपूर्ण थियो । सिटीले पनि डिफेन्समा तीन खेलाडी खेलाउने नै रणनीति बनाएको थियो अनि तीन खेलाडी ‘होल्डिङ मिडफिल्डर’ का रूपमा थिए । ती खेलाडी अगाडि पनि खेलिरहेका थिए, पछाडि पनि । सिटीलाई लियोनको मिडफिल्डमा डर थियो । लियोनका मध्यपंक्तिका खेलाडी एकाएक अगाडि गएर खेल्न सिपालु थिए । यसै ढाँचामा खेल अगाडि बढ्यो र अन्तमा सिटी फेरि एकपल्ट च्याम्पियन्स लिगको नकआउट चरणमा असफल साबित भयो । लियोनका लागि मौसा डेम्बेलेले बेन्चबाट मैदानमा प्रवेश गर्दै खेलको अन्त्यतिर दुई गोल गरे । युरोपेली च्याम्पियन्स लिगमा लियोनले अर्को सनसनीपूर्ण नतिजा निकाल्यो । यस्तोमा सिटी ३–१ ले पराजित भयो । योसँगै प्रतियोगिताबाट पनि बाहिरियो अनि यससँगै उपाधिको बलियो दाबेदार ग्वार्डिओलाको सिटीको यात्रा अपेक्षाभन्दा चाँडै नै टुंगियो । स्टाडियो जोसे अल्भाल्डेमा लियोनले म्याक्सवेल कोर्नेटको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको मध्यमा केभिन डी ब्रुयनले सिटीका लागि बराबरी गोल फर्काएपछि टिम सेमिफाइनल प्रवेशका लागि बलियो प्रत्याशी बनेको थियो । तर डेम्बेलेले ७९ औं मिनेटमा आफ्नो पहिलो गोल गरे । यो स्थितिसम्म पनि सिटीसामु खेलमा फर्कने अवसर थियो । यस्तोमा रहिम स्टर्लिङ गोलको यस्तो निश्चित अवसरमा चुके कि यसप्रति उनलाई पूरा जीवन गुनासो नै रहनेछ । मीठो क्रसमा गोल पोस्ट खालीजस्तै थियो, स्टर्लिङका लागि बललाई सिधा प्रहार गर्नुमात्रै थियो । यही स्थितिमा उनी चुके । बल पोस्टमाथिबाट बाहिरिएको थियो । उनी के चुके त्यसलाई ग्वार्डिओलाले स्विकार्न सकेनन् । मैदानमै उनको घोर निराशा देखिएको थियो । यही बेला लागिसकेको थियो, अब खेल सिटीको हातबाट टाढिएको छ । स्टर्लिङले त्यस अवसरमा गोल गरेको भए खेल बराबरीमा आउने थियो र नतिजा जस्तै पनि सम्भव थियो । तर डेम्बेलेले व्यक्तिगत दोस्रो गोल पनि गरे । आफ्नो पहिलो गोलको तीन मिनेटपछि नै । फ्रान्सेली घरेलु लिगमा सातौं स्थानमा रहेर निराशाजनक प्रदर्शन गरेको लियोनले च्याम्पियन्स लिगमा भने राम्रो खेलिरहेको छ । यसको उदाहरण त यही जित पनि रह्यो । मार्चयता लियोनले खेलेको यो दोस्रो औपचारिक खेलमात्रै हो । अब भने टोलीले प्रतियोगिताको फाइनल पुगेको सपना बुन्न सक्छ । यसका लागि लियोनले बुधबार बायर्न म्युनिकको सामना गर्नेछ । लियोनको जितसँगै च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पनि सकिएको छ । यो जर्मनीविरुद्ध फ्रान्स रहनेछ । पहिलो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आरबी लाइप्जिगको सामना गर्नेछ । त्यसपछि सन् २०१० को सेमिफाइनलको पुनरावृत्तिको रूपमा बायर्न र लियोन भिड्नेछन् । फेरि सिटी र ग्वार्डिओलाकै कुरा । लिभरपुलले इंग्लिस प्रिमियर लिग जितिसकेपछि ग्वार्डिओलाले भनेका थिए, यसपल्ट पनि च्याम्पिन्स लिग जित्न सकिएन भने त्यो मेरो असफलता हुनेछ । यसअघि उनले सिटीका लागि जति पनि उपाधि जिते, त्यसको अर्थ हुने छैन । फेरि यसपल्ट सिटीका लागि सुहाउँदो किसिमले प्रतियोगिताले नकआउट ढाँचामा ‘मिनी टुर्नामेन्ट’ को रूप लिएको थियो, त्यसमै सिटी फेरि एकपल्ट असफल रह्यो । (कान्तिपुर अनलाईनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts