ताप्लेजुङमा दुईचरणमा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुने,१० हजार बालबालिकालाई खोप दिईदैं

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १० । ताप्लेजुङमा करिव १० हजार बालबालिकाहरुलाई दादुरा–रुबेला बिरुद्धको खोप दिईने भएको छ ।

यहाँका ९ स्थानीय तहमध्ये पहिलो चरणमा ४ र दोस्रो चरणमा ५ स्थानीय तहमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन सुपरभाईजर दिनेश रायले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा फागुन १८ देखि २२ गते सम्म फुङलिङ नगरपालिका,सिदिङ्वा गाउँपालिका,सिरिजङ्गा गाउँपालिका र पाथीभरा याङवरक गाउँपालिकाका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने छ । दोस्रो चरणमा फागुन २४ देखि २८ गते सम्म आठराई त्रिबेणी गाउँपालिका,मैवाखोला गाउँपालिका,मेरिङदेन गाउँपालिका,मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाका खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने रायले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९ महिना पूरा भई ५ बर्ष ननाघेका बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप दिईने छ । स्वास्थ्य कार्यालयका अनुसार फुङलिङ नगरपालिकाका १ हजार ९ सय ८६,सिरिजङ्गा गाउँपालिकाका १ हजार ५,सिदिङ्वाका ८ सय ६० र पाथीभरा याङवरकका ७ सय ५० जना बालबालिकालाई खोप लगाईने छ । यस्तै फक्ताङलुङ गाउँपालिकाका ८ सय १३,मेरिङदेन गाउँपालिकाका ८ सय,आठराई त्रिबेणी गाउँपालिकाका ९ सय,मैवाखोला गाउँपालिकाका ९ सय ६१ र मिक्वाखोला गाउँपालिकाका ७ सय ६० बालबालिकालाई खोप दिइने गरी सूची तयार भएको छ ।

स्वास्थ्य कार्यालयले ९ महिना पूरा भई ५ बर्ष ननाघेका सबै बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा ल्याएर दादुरा–रुबेला बिरुद्धको खोप लगाउन सम्वन्धित अभिभावकहरुलाई आग्रह समेत गरेको छ । दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रामक रोग हो । यो कुनैपनि उमेर समूहका लागि लाग्न सक्ने भएपनि ५ बर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । रुबेला रोग दादुरा रोग जस्तै भाइरसबाट हुन सक्ने एक प्रकारको संक्रामक रोग हो । सामान्य रुघाखोकीको रुपमा यो रोग बालबालिका तथा बयस्कहरुमा देखिन्छ । दादुरा–रुबेला रोगबाट बच्ने सबैभन्दा उत्तम उपाय भनेको खोप नै भएकोले खोप लगाएर रोग लाग्न नदिन स्वास्थ्य कार्यालय ताप्लेजुङले आग्रह समेत गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts