ताप्लेजुङमा करिव १८९ हेक्टर वन क्षेत्र अतिक्रमित
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङको करिव १ सय ८९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको पाइएको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार संस्थागत तथा व्यक्तिगत रुपले १८९.६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त प्रमुख बद्रीप्रसाद शाहका अनुसार वन र आवादी जोडिएको सीमानामा बढी मात्रामा वन अतिक्रमण भएको छ । डिभिजन वन कार्यालयको कार्यक्षेत्रमा ९७ हजार ६ सय ११.३६ हेक्टर वन क्षेत्र रहेको छ । त्यसमध्ये १३ हजार १ सय ६८.९२ हेक्टर वन क्षेत्र प्रस्तावित तिनजुरे–मिल्के–जलजले गुराँस संरक्षण क्षेत्रमा पर्छ भने सामुदायिक वन भित्र ९ हजार ७ सय ३७.८५ हेक्टर क्षेत्र पर्छ । डिभिजन वन कार्यालयले प्रकाशित गरेको बार्षिक कार्यक्रम सहितको प्रगति पुस्तिका अनुसार फुङलिङ नगरपालिकाको वडा नं १० र ११ को पाथीभरा क्षेत्रमा व्यक्ति र संस्थाद्धारा २५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ ।
यस्तै मिक्वाखोला गाउँपालिका वडा नं ५ को तोक्पेगोला क्षेत्रमा व्यपारिक केन्द्र बनाउन स्थानीयद्धारा ३ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । मेरिङदेन गाउँपालिकाको वडा नं २ स्थित गुँरासेपोखरी क्षेत्रमा पोखरी घेराबारा तथा होमस्टे निर्माणका क्रममा ०.५ हेक्टर र मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को तिनजुरे–मिल्के–जलजले(टिएमजे)क्षेत्रमा भ्यूटावर लगायतका संरचना निर्माण तथा स्थानीयद्धारा आवास निर्माणका क्रममा ५२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ । ९ वटै स्थानीय तहमा पसल,व्यवसाय,गोठ आदि कार्यका लागि १ सय ५.५ हेक्टर र सिदिङ्वा गाउँपालिका वडा नं १ स्थित तिम्बुङपोखरी क्षेत्रमा स्थानीयद्धारा होमस्टे तथा आवास निर्माणका क्रममा २ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आर्थिक बर्ष २०७९।८० देखि यताको अवधिमा भने थप वन क्षेत्र अतिक्रमणमा परेको छैन । वन अतिक्रमण रोक्न र थप अतिक्रमण हुनबाट बचाउन डिभिजन वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहलाई परिचालन गर्ने योजना बनाएको बताएको छ । सडक नजिकको वन क्षेत्रको हकमा डिभिजन वन कार्यालयको संयोजनमा जिल्ला वन क्षेत्र समन्वय समिति,जिल्ला प्रशासन कार्यालय,स्थानीय वन समूह र वन कर्मचारीको संयुक्त प्रयासमा जोड दिने तयारी रहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शाहले जानकारी दिनुभयो ।