ताप्लेजुङमा पटका,भुइँचम्पा आतिशबाजी सहितका बिष्फोटक पदार्थको खरिद,बिक्री,ढुवानी र प्रयोगमा रोक
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३१ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिशबाजी,पटका,भुइँचम्पा जस्ता कुनैपनि बिष्फोटक पर्दाथको खरिद,बिक्री,ढुवानी र प्रयोगमा रोक लगाएको छ ।
शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले एक सूचना आवह्वान गर्दै सम्भासवत आगलागी समेतलाई ध्यानमा राखी आतिशबाजी,पटका,भुइँचम्पा जस्ता कुनैपनि बिष्फोटक पर्दाथको खरिद,बिक्री,ढुवानी र प्रयोगमा रोक लगाईएको जानकारी दिनु भएको हो । यस्ता बिष्फोटक पदार्थको खरिद,बिक्री,ढुवानी र प्रयोग बारे प्रहरीसंगको समन्वयमा स्थानीय प्रशासनले सुक्ष्म अनुगमन सुरु गरिसकेको र फेलापरे कडा कानुनी कारवाही गर्ने समेत सहायक प्रजिअ खड्काले बताउनुभयो ।
स्थानीय प्रशासनले देउसी भैलो सहितका साँस्कृतिक कार्यक्रम मर्यादित,अनुशासित र सामाजिक सद्भावलाई खलल पार्ने प्रकृतिको हुन नहुनेतर्फ सबैलाई सचेत गराएको छ । यसअघि दशैंभन्दा अघि समुदायलाई सचेत पार्दै जारी भएको सूचनामा देउसी भैलोका कार्यक्रम बेलुकी ९ बजेसम्ममात्र हुने भनिएकोमा शुक्रवार जारी सूचनामा भने देउसी भैलोको समय तोकिएको छैन । सार्वजनिक स्थलमा भिडभाड,होहल्ला र हुलदंगा हुन नदिन सबैलाई सचेत पार्दै स्थानीय प्रशासनले यदि सूचना प्रतिकुल कार्य भए कडा भन्दा कडा कारवाही गर्ने चेतवानी दिएको छ । चाडपर्वको बहानामा कुनैपनि धार्मिक,जातीय तथा समाजिक सद्भावमा खलल पर्ने कुनैपनि कार्य नगर्न नगराउन प्रशासन कार्यालयले सचेत गराएको छ ।
प्रशासन कार्यालयले गैर कानुनी रुपमा जुवातास,चिठ्ठा तथा अनलाइन सपिङका नाममा हुने अवैध कारोवार तथा विद्युतीय माध्यमबाट हुने ठगी कार्य प्रतिवन्ध गर्दै यसमा सजग रहन सर्वसाधारणलाई सजग गराएको छ । अत्यावश्यक बस्तुमा कृत्तिम अभाव सृजना गर्ने,कालोबजारी सृजना गर्ने,प्रचलित दर भन्दा बढाएर उपभोग्य बस्तुको कारोवार गर्ने,अखाद्य तथा म्याद नाघेका बस्तु बिक्री गर्ने जस्ता कार्य कानुन विपरित हुने भन्दै प्रशासन कार्यालयले सम्वन्धितलाई सजग गराएको छ । प्रशासन कार्यालयले सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न,मादक पदार्थ सेवन गरी सवारी नचलाउन,तोकिएको भन्दा बढी भाडादार नलिन,सिट क्षमता भन्दा बढी यात्रु नबोक्न र ट्राफिक ,नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । प्रशासनले कुनैपनि कारणले सडक तथा बाटो अबरुद्ध नगर्न नगराउन र अवरुद्ध भए यथाशीघ्र सञ्चालन हुने वातावरण मिलाउन सडक डिभिजन कार्यालय सहितका निकायलाई निर्देशन समेत दिएको छ ।