|

नेत्रज्योति संघ ताप्लेजुङ र डिचेन डोङ्गलाद्धारा एकबर्षमा १३ हजार भन्दा बढीको आँखाको परीक्षण तथा उपचार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ४ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले एक आर्थिक बर्षमा ताप्लेजुङ र पाँचथरका १३ हजार बढी नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको छ ।

नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आव २०८०।८१ को अवधिमा १३ हजार ७४ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा शल्यकृया शिविरमार्फत ३ सय ६४ जनाको आँखाको शल्यकृया गरिएको छ । ति मध्ये ३ सय ४४ जना मोतियाबिन्दुका बिरामी तथा २० जना साधारण शल्यकृया गर्नुपर्ने बिरामी रहेको गुरुङले जानकारी दिनुभयो । उक्त अवधिमा १ सय २६ जनालाई आँखाको जोगावट तथा संरक्षण सम्वन्धी जनचेतनामुलक अनुशिक्षण गराइएको समेत उहाँले बताउनुभयो । स्थानीय महिला स्वास्थ्य स्वयंसेविका,शिक्षक,जनप्रतिनिधि र समुदायका अगुवा स्वयंसेवीलाई यस्तो अनुशिक्षण तालिम दिइने गरिएको छ ।

नेपाल नेत्रज्योति संघमार्फत ताप्लेजुङमा फुङलिङ र दोभानमा गरी दुई तथा पाँचथरको याङ्वरक र कुम्मायक गरी दुईस्थानमा गरी कूल ४ स्थानमा आँखा उपचार केन्द्र व्यवस्थापन गरिएका छन् । फुङलिङमा रहेको डिचेन डोङ्गला नेपाल नेत्रज्योति संघ ताप्लेजुङमार्फत सञ्चालित हो भने दोभानमा रहेको आँखा उपचार केन्द्र मेरिङदेन र आठराई त्रिबेणी गाउँपालिकाको आर्थिक साझेदारीमा सञ्चालनमा छ । पछिल्लो समय दोभान आँखा उपचार केन्द्रको व्यवस्थापिकय भूमिका मेरिङदेन गाउँपालिकाले लिएको छ । पाँचथरको याङवरक गाउँपालिकाको मुख्य व्यवस्थापनमा थर्पु बजारमा तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापनमा यासोक बजारमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आव २०८०।८१ मा ७ हजार ६ सय ९७ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् । फुङलिङमै सञ्चालित शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा २ हजार ४ सय ६८ जनाले परीक्षण गराएका थिए । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको सेवाक्षेत्र रहेका ताप्लेजुङ र पाँचथरका ५ वटा स्थानीय तहमा सञ्चालन भएका आँखा परीक्षण तथा उपचार शिविरमार्फत ९ सय ८५ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको छ । उक्त अवधिमा पाँचथर र ताप्लेजुङका २३ वटा बिद्यालयका १ हजार ९ सय २४ जना बिद्यालयमा अध्ययनरत बिद्यार्थीको आँखाको परीक्षण गरिएकोमा १ सय ४६ जनामा बिभिन्न किसिमका आँखाका समस्या फेला परेको समेत गुरुङले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षको साउन महिनामा डिचेन डोङ्गलामार्फत ३ सय ३ जना नयाँ तथा ७८ जना पुरानो नाम दर्ता गराएका आँखाका रोगी उपचार तथा परीक्षणमा आएका छन् । भदौ महिनामा ४ सय ८७ जना नयाँ तथा ७८ जना पुरानो नाम दर्ता भएकाहरुले आँखाको परीक्षण तथा उपचार गराउँदा असोज महिनामा ४ सय ३० जना आँखाका नयाँ रोगीले आँखाको परीक्षण तथा उपचार गराएका छन् । नेपाल नेत्रज्योति संघ ताप्लेजुङले बर्षमा कम्तिमा दुईपटक शल्यकृया सहितको निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । आव २०८०।८१ मा भने यस्ता शिविर बर्षमा तीनपटक भएका थिए ।

नेपाल नेत्रज्योति संघले तत्कालै जिल्लाभरका सेवाग्राहीलाई लक्षित गरी फुङलिङ बजारमा तथा मेरिङदेन,आठराई त्रिबेणी,मैवाखोला र मिक्वाखोला गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी दोभान बजारमा शल्यकृया सहितको आँखा शिविर सञ्चालनको तयारी गरिरहेको जनाएको छ । नेपाल नेत्रज्योति संघले २०५५ सालबाट ताप्लेजुङमा र तीनबर्षअघिबाट पाँचथरका सेवाग्राहीलाई समेत लक्षित गरी आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts