| |

सुख्खा पहिरोमा परी ट्रेकिङ समूहका भान्सेको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज १९ । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको भ्रमणमा गएको एक ट्रेकिङ समूहका भान्सेको पहिरोमा परी मृत्यु भएको छ । प्रहरीका अनुसार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुका ४१ वर्षीय टीकाबहादुर राईको पहिरोमा परी मृत्यु भएको हो ।
तीनजना जापानिज (विदेशी) नागरिकसहितको ट्रेकिङ समूह कञ्चनजंघा आधार शिविरतर्फ जाने क्रममा शनिबार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको इटहरीमा माथिबाट झरेको पहिरोमा परी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बिहान करिव ९ः३० बजेतिर पहिरोमा परी राईको घटनास्थलमै मृत्यु भएको हो ।
पदयात्राका क्रममा माथिबाट झरेको सुख्खा पहिरोमा परी मृत्यु हुनुभएका राईको टाउको फुटेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । बस्नेतकै नेतृत्वमा जिल्लाबाट घटनास्थलतर्फ गएको प्रहरी टोलीले घटना विवरण संकलन गरी सकेर राईको शव सदरमुकाम फुङ्लिङ ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार कञ्चनजंघा भ्रमणमा जाँदै गरेको ट्रकिङ समूहमा भान्से मृतक राईसहित तीनजना विदेशी, एकजना पथप्रदर्शक (गाइड) र १३ भरिया गरी १८ जना रहेका थिए । ट्रकिङ समूहका अन्य सबैजना सकुशल रहेका पनि प्रहरीले जानकारी दिएको छ । यता राईको शव सदरमुकाममा पु¥याएर जिल्ला अस्पताल ताप्लेजुङको शवगृहमा राखिने र आफन्त आइसकेपछि शव बुझाइने ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts