रेडपाण्डा संरक्षणको सन्देश दिन ताप्लेजुङमा असोज पहिलो साता रेडपाण्डा म्याराथन गर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३१ । ताप्लेजुङमा आउँदो असोज पहिलो साता रेडपाण्डा म्याराथन गर्ने तयारी थालिएको छ ।

रेडपाण्डा नेवर्टक र स्थानीय कार्यक्रम कार्यान्वयन संस्था हिमाली संरक्षण मञ्चको अगुवाई तथा फुङलिङ नगरपालिका सहितका निकायसंगको सहकार्यमा म्याराथन गर्ने तयारी थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । रेडपाण्डा र उनीहरुको प्राकृतिक वासस्थानको संरक्षण तथा अवैध चोरी शिकारी नियन्त्रण सहितका बिषयमा सचेतना अभिवृद्धिको प्रमुख उद्देश्य सहित रेडपाण्डा म्याराथन गर्ने तयारी थालिएको हो । राईका अनुसार हरेकबर्षको सेक्टेम्बर २१ तारेखमा रेडपाण्डा संरक्षण दिवस मनाइन्छ । सोहि अर्थात् आउँदो असोज ५ गतेको दिनलाई मुख्य उत्सव मानेर म्याराथन गर्ने तयारी गरिएको राईले जानकारी दिनुभयो । कार्यक्रम कसरी गर्ने भन्ने बिषयमा भने छलफल भइरहेको राईले जानकारी दिनुभयो ।

म्याराथन पाथीभरा क्षेत्रमा गर्ने पूर्व तयारी थालिएको छ । पाथीभरा क्षेत्र रेडपाण्डा पाइने प्रमुख क्षेत्रको रुपमा परिचित छ । रेडपाण्डा म्याराथन सहितका कार्यक्रम गर्न रेडपाण्डा नेटवर्कले चालू बर्षका लागि १० लाख रुपैयाँको कार्यक्रम राखेको छ । फुङलिङ नगरप्रमुख अमिर मादेनका अनुसार रेडपाण्डा महोत्सव सहितका गतिविधिका लागि नगरसभाबाट ५ लाख रुपैयाँ बजेट चालू आवका लागि स्वीकृत भएको छ । हिमाली संरक्षण मञ्चले फुङलिङ नगरपालिका सहितका सरोकारवाला अन्य निकायसंग छलफल भइरहेको र उक्त छलफल पछि कार्यक्रमको पूर्ण विवरण र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।

फायल तस्बिर 

अरुलाई पनि शेयर गरौ !

Similar Posts