| | |

पाथीभरामा केबुलकार निर्माणको तयारी

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ६ ।
ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको तयारी गरिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरा देवी दर्शन केबुलकार प्रालिमार्फत केबुलकार निर्माणको तयारी गरिएको हो ।
सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । जिल्लाको पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरामा केबुलकार निर्माण गर्न लागिएको हो । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्नेगरी केबुलकार निर्माण गरिने भएको छ ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । करिव तीन अर्व रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले जानकारी दिनुभयो ।
आगामी बैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्नेगरी तयारीलाई अघि बढाएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको पनि पौडेलले बताउनुभयो । उहाँले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताउनुभयो ।
अन्तक्र्रियामा प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठले केबुलकार परियोजनाको उपलब्धी, प्रभाव र चुनौतीबारे अवगत गराउनुभएको थियो । श्रेष्ठले केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धीबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङबासीलाई धेरै फाइदा पुग्ने बताउनुभयो ।
यता अन्तक्र्रियाका अधिकांस सहभागीले केबुलकार निर्माणमा ढिलाई गर्न नहुने बताएका छन् । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकासँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबुलकारको काम थाल्नुपर्ने बताउनुभयो । प्रदेश सांसद बलबहादुर साम्सोहाङले केबुलकारजस्ता ठूला परियोजनाले विकासमा फड्को मार्ने विषयसँगै स्थानीयलाई धेरै लाभ मिल्ने बताउनुभयो । साम्सोहाङले नीतिगत व्यवस्थालाई प्राथमिकता दिँदै परियोजना कार्यान्वयनमा ढिलाइ गर्न नहुने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पनि स्थानीय सरोकारवालाको सुझावलाई आत्मसाथ गर्दै प्रभावित क्षेत्रको हितलाई प्राथमिकता दिएर परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । स्थानीय समुदायको माग, संस्कार संस्कृति र सभ्यतासहित सामाजिक परिवेश समेतलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका समुदाय साथै जिल्लावासीका लागि परियोजनाबाट पुग्ने उपलब्धीलाई सुनिश्चित गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केबुलकार परियोजना कार्यान्वयन गर्दा प्रवद्र्धक कम्पनीले जिल्लाको पर्यटन विकासका लागि अन्य पूर्वाधारसहितका योजनालाई पनि अघि सार्नुपर्ने धारणा राख्नुभयो ।
उता पाथीभरा क्षेत्रमा केबुलकार निर्माण परियोजना अघि बढाइने भएपछि केही समुदायले भने सुरुदेखि नै विरोध गर्दै आएका छन् । स्थानीय लिम्बू समुदायको साँस्कृतिक अस्तित्वसँग पाथीभरा (मुक्कुमलुङ) जोडिएकाले साँस्कृतिक अतिक्रमण हुनेभन्दै विरोध हुँदै आएको छ । समुदायगत पहिचान र संस्कृतिलाई असर नपु¥याई परियोजना कार्यान्वयन गर्नुपर्ने माग हुँदै आएको छ ।
यसरी विभिन्न टिकाटीप्पणी, विरोध, सङ्घर्ष र समर्थनकाबीच केबुलकार परियोजना कार्यान्वयन गर्न लागिएको छ । केही साँस्कृतिक मान्यतामा थोरै प्रभावहरु पर्ने भए पनि समग्रमा जिल्लाको पर्यटन विकास, आम्दानी वृद्धिसँगै प्रत्यक्ष रुपमा फाइदा पुग्ने भएकाले केबुलकार परियोजना कार्यान्वयनमा सहयोग गर्न प्रालिका प्रमुख कार्यकारी अधिकृत स्वदेश गुरुङले सरोकारवाला सबैसँग अनुरोध गर्नुभयो । हाल पाथीभरामा वार्षिक तीनदेखि पाँच लाखसम्म धार्मिक पर्यटक आउने गरेका छन् भने केबुलकार निर्माण भएमा दोब्बर/तेब्बरले वृद्धि हुने आँकलन गरिएको छ ।

Similar Posts